चरेस र सालकको खपटासहित तीनजना पक्राउ



मकवानपुर,फागुन ५ । मकवानपुरको थाहा नगरपालिका-९ टिपटारबाट अवैध लागुऔषध चरेस जस्तो देखिने वस्तु करिब १० किलो र करिब १ किलो तौलको सालकको खपटासहित ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने थाहा नगरपालिका-७ डाडाबास घर भएका ३५ वर्षीय दिलु भन्ने टेक बहादुर गोले, टेक बहादुरकै भतिज नाता पर्ने ३० वर्षीय गब्रे भन्ने दिलीप कुमार गोले र दिलीप कुमारकी श्रीमती ३१ वर्षीया चमेली भन्ने सबिता गोले पाख्रिन रहेका छन् ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय चित्लाङ र ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्दा उक्त लागुऔषध र सालकको खपटा फेला पारी तीनै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्