भुक्तानी नपाएको भन्दै चितवनका किसानले सडकमा पोखे दूध



चितवन,फागुन ७ । दूध विक्री नभएको र विक्री भएको दूधको भुक्तानी नपाएको भन्दै चितवनका किसानले सडकमा दूध पोखेर विरोध गरेका छन् । जिल्लाका ११५ भन्दा बढी दुग्ध सहकारी आवद्ध संस्था चितवन जिल्ला दूध उत्पादक सहकारी संघको नेतृत्वमा दूध किसानले केन्द्रीय बस टर्मिनल चोक, भरतपुरमा विरोध गरेका हुन् ।

संघका अध्यक्ष किशोर बगालेले किसानले प्रधानमन्त्री, संघीय तथा प्रदेश कृषिमन्त्रीलगायतलाई पटकपटक समस्या राख्दासमेत समाधान नभएकाले आन्दोलनस्वरूप दूध पोखेको बताए । किसानको समस्या समाधान गर्न सरकार असक्षम रहेको भन्दै आन्दोलित किसानले कृषिमन्त्रीको राजीनामासमेत माग गरेका छन् । 

दूधले बजार नपाएको र साउनदेखि भुक्तानी नपाएको भन्दै दुग्ध उत्पादक किसान आन्दोलित बनेका संघका अध्यक्ष बगालेको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालय चितवनमा प्लाकार्ड प्रदर्शन र नारा–जुलुससहित गएको समूहले पूर्व–पश्चिम राजमार्गअन्तर्गत केन्द्रीय बसपार्कमा दूध पोखेको थियो । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका सचिव कल्याण अधिकारीले ४० हजारभन्दा बढी पशुपालक किसानले करीब २२ करोड रुपैयाँ भुक्तानी नपाएकोले आन्दोलन गर्नुपरेको बताए । चितवनमा उत्पादन हुने साढे तीन लाख लिटर दूधमध्ये डेढ लाख जिल्लाबाहिर खपत हुँदै आएको छ ।

अधिकारीका अनुसार बक्यौता माग्दा दूध उद्योगले खरीदसमेत नगरेको किसानको गुनासो छ । चितवनका केही दूध सहकारीले साउनदेखिकै भुक्तानी नपाएको उनले बताए ।  

सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)सहित देशभरिका प्रायः निजी डेरी उद्योगले चितवनबाट दूध खरीद गर्दै आएका छन् ।

भरतपुर–१० स्थित संघको कार्यालय परिसरमा भेला भएका किसानले नारा लगाउँदै जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापासमक्ष ज्ञापनपत्र बुझाएका थिए । त्यसपछि बसपार्क चोकमा कोण सभा गरेका उनीहरूले सांकेतिक विरोधस्वरूप सडकमै दूध पोखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्