अर्थतन्त्रले ‘रिफर्म’ खोजेको छ : विज्ञ



काठमाडौं,फागुन ७ । विदेशी मुद्रा सञ्चिति, रेमिट्यान्सलगायत बाह्य क्षेत्र सुधार हुँदा पनि अर्थतन्त्र चलायमान हुन नसकेको विज्ञले बताएका छन् । महिला आर्थिक पत्रकार संघको आयोजना र नबिल बैंकको सह—आयोजनामा भएको नीतिगत बहस कार्यक्रममा वक्ताले देशको अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार आए पनि आन्तरिक क्षेत्रमा समस्या भएको भन्दै प्रश्न गरेका छन् । 

अर्थविद् प्रा.डा. शिवराज अधिकारीले बाह्य क्षेत्र मात्र सहज छ भनेर ढुक्क हुने अवस्था नभएको बताए । उनले भने, ‘बाह्य क्षेत्र ठीकठाक छ भनेका छौं तर खै त अर्थतन्त्र चलायमान भएको ? अर्थतन्त्रले अब रिफर्म खोजिरहेको छ ।’

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठले बाह्य क्षेत्र राम्रो भए पनि आन्तरिक क्षेत्रमा अझै समस्या रहेको सही भएको बताए । यद्यपि २ वर्षअघिभन्दा अहिले केही सुधार भएको पाटोलाई भन्ने भुल्न नहुने उनले उनले बताए ।

आन्तरिक मागमा कमी आउँदा अर्थतन्त्र गतिशील हुन नसकेको श्रेष्ठको भनाइ छ । उनले भने, ‘सरकारको वित्त व्यवस्थापनमा कमजोरी भइरहेको छ । वित्तीय नीति ७६१ ओटा र मौद्रिक नीति एउटा मात्र छ । मौद्रिक नीतिले धेरै सम्बोधन गरेको छ, अब वित्तीय नीतिले पनि बुझेर आफ्नो भूमिका निर्वाह गर्नुपर्छ ।’

डा. श्रेष्ठले मौद्रिक नीतिले गेयर परिवर्तन गरिसकेको बताए । 

यता नेपाल बैंकर्स एशोसियशनका अध्यक्ष सुनिल केसीले नेपाली बैंकले ट्याकल गर्नै नसक्ने अवस्थाबाट बाहिर आइसकेको बताए । तरलताको हिसाबले नेपाली बैंक सबैभन्दा उत्तम अवस्थामा रहेको केसीको भनाइ छ । 

उनले भने, ‘बैंकहरूले ४० वर्षको अवधिमा अधिकांश समय केही न केही चुनौतीको सामना गरिरहनु पर्यो । तैपनि बैकिङ क्षेत्रले गरेको वित्तीय समावेशिताको योगदान उच्च छ । विश्वका शक्तिशाली बैंकहरूमा नकारात्मक संकेत देखिरहेको छ त । नेपालका बैंकहरू सहज अवस्थामा छन् ।’ 

कार्यक्रममा अन्य वक्ताहरूले पनि अर्थतन्त्र सुधारको आवश्यकता औंल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्