बागमती प्रदेश सभा बैठक आह्वानको सिफारिस

मकवानपुर,फागुन ८ । बागमती प्रदेशको प्रदेश सभाको अधिवेशन यही फागुन १५ गतेका लागि आह्वान भएको छ। बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बैठक आह्वानका लागि सिफारिस गरेको हो।
बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामा तामाङले फागुन १५ गते दिउँसो ३ बजेका लागि प्रदेश सभाको बैठक आह्वान गर्न सिफारिस गर्ने निर्णय भएको जानकारी दिए ।
यस्तै बैठकले समस्याग्रस्त सहकारीको समस्या समाधान गर्न गठित समितिमा कर्मचारी अस्थायी दरबन्दी सिर्जना गरी नियुक्ति गर्न स्वीकृत गर्ने निर्णय गरेको छ। १६ जना कर्मचारीको दरबन्दी सिर्जना गरी बैठकले स्वीकृत गरेको हो। मन्त्री तामाङले बैठकले प्रदेश स्वयम्सेवक ब्यूरो गठन गर्ने तथा विपन्न दलित सशक्तिकरण सम्बन्धी कार्यविधि र शिक्षा नीति २०८० मन्त्रिपरिषद् बैठकले स्वीकृत गर्ने निर्णय गरेको बताए ।