क्यानडा–११ माथि नेपाल ‘ए’ विजयी



काठमाडौं,फागुन ८ । नेपालको ‘ए’ टोलीले दोस्रो एक दिवसीय क्रिकेट प्रतियोगितामा क्यानडा–११ माथी २ विकेटले विजयी भएको छ। काठमाडौंको मूलपानी क्रिकेट मैदानमा क्यानडाले दिएको २४१ रनको लक्ष्य पछ्याएको नेपालले ४९ ओभर १ बलमा ८ विकेट गुमाएर पूरा गर्यो ।

नेपालका कप्तान सन्दीप जोराले ६६ तथा बसिर अहमदले ५२ रनको अर्धशतकीय पारी खेले। यस्तै, रासिद खानले ४७, अर्जुन कुमाले ४० तथा किरण ठगुन्नाले १३ रन जोडे । क्यानडाका अमोर खालिद, शाहिद अहमद्जाई र निखिल दत्तले दुई–दुई तथा साद बिन जफर र हर्ष ठेकरले एक–एक विकेट लिए ।

यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको क्यानडाले ४९ ओभर ६ बलमा अल आउट हुँदै २ सय ४० रन बनाएको थियो । क्यानडाका श्रेयस मोम्भाले सर्वाधिक ६८ रनको अर्धशतकीय पारी खेले । यस्तै, नवनीत धलिवालले ४६, श्रीमन्था विजयरत्नेले ४१, ओरोन जोनसनले ३६ तथा डिलोन हेलिगरले १६ रनको योगदान गरे ।

नेपालका साहब आलम र रासिद खानले तीन–तीन, शेर मल्लले दुई तथा सागर ढकाल र बसिर अहमदले एक–एक विकेट लिए । यो जितसँगै नेपाल र क्यानडाबीचको तीन खेलको सिरिजमा १–१ को बराबरी भएको छ ।

पहिलो खेलमा नेपाल क्यानडासँग ४ विकेटले पराजित भएको थियो । सिरिजको तेस्रो तथा निर्णायक खेल आगामी बिहीबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्