अर्जेन्टिनी राष्ट्रपति मिलेईको ९ हप्ते शासनकालमै आर्थिक सुधारको संकेत ! १२ वर्षपछि मासिक बजेट बचतमा



ब्यूनस आयर्स (अर्जेन्टिना),फागुन ९ । गत डिसेम्बरमा राष्ट्रपतिको पदभार सम्हालेका ह्याभिर मिलेई ९ हप्ते शासनकालमै आर्थिक सुधारको संकेत देखिएको छ । गत जनवरीमा १२ वर्षपछि पहिलो पटक त्यहाँको मासिक बजेट बचतमा देखिएको छ । 

जनवरीमा त्यहाँको सार्वजनिक क्षेत्रको वित्त ५८९ मिलियर अमेरिकी डलर बचतमा देखिएको गत शुक्रवार त्यहाँको अर्थव्यवस्था मन्त्रालयले जानकारी दिएको छ । यो तथ्यांकमा सार्वजनिक ऋणको ब्याज भुक्तानी पनि समावेश छ । 

त्यहाँको एक समाचार एजेन्सीका अनुसार अर्थव्यवस्था मन्त्रालयले भनेको छ, ‘सन् २०१२ अगस्टपछि पहिलो पटक त्यहाँको मासिक बजेट बचतमा देखिएको हो । र, सन् २०११ पछि पहिलो पटक जनवरीमा यस्तो देखिएको हो ।’

अर्जेन्टिनी मुद्रा पेसोको ५० प्रतिशत अवमूल्यन गरिएपछि र मूल्य नियन्त्रण हटाइएपछि  अर्जेन्टिनामा गत जनवरीमा २०.६ प्रतिशत मुद्रास्फीति देखिएको थियो, जसमा १२ महीनाको दर २५४.२ प्रतिशत थियो । गत वर्ष (सन् २०२३)मा भने त्यहाँको मुद्रास्फीति २११ प्रतिशत थियो । 

राष्ट्रपति मिलेईले देशको अर्थव्यवस्था सुधारका लागि अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग ४४ बिलियन अमेरिकी डलर ऋणका लागि पहल थालेका छन् । उनले यही वर्ष (सन् २०२४)सम्म देशको अर्थव्यवस्था सुधार गर्ने प्रतिबद्धता गरेका थिए । सोहीअनुरूप उनले पदभारलगत्तै सरकारी खर्चमा भारी कटौती गरेका थिए भने मन्त्रालयको संख्या पनि घटाएका थिए । 

राष्ट्रपति मिलेईले तीन महिनामा आर्थिक सुधार हुने आकलन गरेका छन् । उनी गत नोभेम्बरमा अर्जेन्टिनाको राष्ट्रपतिमा निर्वाचित भएका थिए । 

प्रतिक्रिया दिनुहोस्