सितापाइला घटना : आशंकाले परिवारै सखाप



काठमाडौं,फागुन ९ । सितापाइला घटना श्रीमान श्रीमतीबीचको आपसी विवादका कारण भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। प्रहरी वृत स्वयम्भुका डीएसपी पूर्णिमा चन्दले श्रीमान श्रीमतीबीच पहिल्यैदेखि झै-झगडा हुने गरेको बताइन्। सोही कारण राजु भन्ने काजी विकले श्रीमती, छोरी र नातिनीको हत्या गरेको अनुसन्धानबाट खुलेको हो।

बुधबार विहान नागार्जुन-६ भैरव टोलमा तीन जनाको हत्या भएको सूचना प्रहरीकले पाएको थियो। घटनास्थल पुग्दा प्रेमकुमारी श्रेष्ठ, उनकी छोरी अनिसा श्रेष्ठ र नातिनी सिवाना श्रेष्ठ मृत भेटिएका थिए। प्रेमकुमारीका श्रीमान काजीले तीनै जनाको हत्यापछि नजिकैको जंगलमा गएर आत्महत्या गरेका थिए। जिल्ल प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीका अनुसार घरबाट २ किमी टाढा रहेको हरिसिद्धिको जंगलमा काजी झुण्डिएको अवस्थामा फेला परेका थिए।

डीएसपी चन्दका अनुसार मृतक प्रेमकुमारी एक महिनाअघि प्रहरी वृत स्वयम्भुमा बलात्कार मुद्दा दर्ता गराएकी थिइन्। श्रेष्ठ थरका ५१ वर्षीय पुरुषले प्रलोभन दिएर जबर्जस्ती करणी गरेको भन्दै उनले प्रहरीमा निवेदन दिएकी थिइनु। बलात्कार आरोपी गत फागुन १ गते पाँच लाख धरौटी बुझाएर छुटेको प्रहरीको भनाइ छ। सोही विषयमा श्रीमान श्रीमतीबीच मनमुटाव देखिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

प्रहरीले हत्यापछि काजीले खिचेका भिडियो क्लिप पनि फेला पारेको छ। काजीले छोरालाई भिडियो खिच्न लगाएका थिए। भिडियो खिचेर काजीले विदेशमा रहेका प्रेमकुमारीको छोरा र बहिनीलाई पठाएका थिए। काजीले भिडियोमा सबैको हत्या गरेको र आफू पनि मर्न हिंडेको खबर पठाएका थिए। काजीले सालीलाई फोन गरेर छोरा अनिसलाई राम्रोसँग पालीदिनु भनेका थिए। काजी र प्रेमकुमारीले १७ वर्ष अगाडि प्रेमविवाह गरेका थिए।

प्रतिक्रिया दिनुहोस्