ट्याक्टर दुर्घटनामा दुईको मृत्यु, ६ जना घाइते



सर्लाही,फागुन ९ । सर्लाहीको बरहथवा नगरपालिका–१५, प्रिपाभित्तास्थित बागमती नहरमा बुधबार ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 

दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् । रौतहटको गढीमाई नगरपालिकाबाट सर्लाहीको हजरियातर्फ आलु खन्न आएकाहरू सवार ट्याक्टर अनियन्त्रित भई नहरमा खसेर दुर्घटना भएको हो । 

दुर्घटनामा ट्याक्टरका धनी समेत रहेका चालक गढीमाई नगरपालिका–९, का ५५ वर्षीय जयलाल सहनी र सोही ठाउँका ५० वर्षीय रामनाथ सहनीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ । 

दुर्घटनामा गढीमाई नगरपालिका–९ कै १७ वर्षीय आकाश सहनी, १२ वर्षीय किसन सहनी, ४८ वर्षीया गर्भी देवी, ४५ वर्षीय सुकल देवी, १८ वर्षीया नितेश सहनी र १६ वर्षीया अन्चला कुमारी घाइते भएका छन् । 

उनीहरूमध्ये आकाश र किसनको वीरगन्ज, गर्भी देवी, सुकल देवी र नितेशको गौर तथा अन्चला कुमारीको गरुडामा उपचार भइरहेको प्रहरीले जनाएको छ । नहरको डिलमा रहेको साँघुरो बाटोबाट ट्याक्टर करिब २५ फिट तल खसेको छ । प्रहरीका अनुसार ट्याक्टरको नम्बर खुल्न सकेको छैन् । 

प्रतिक्रिया दिनुहोस्