आयात २१ अर्बले घट्यो बढ्न सकेन निर्यात



काठमाडौं,फागुन १० । बजारमा माग घट्दा मुलुकको अन्तर्राष्ट्रिय व्यापारमा त्यसको असर कायमै देखिएको छ । भन्सार विभागले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको माघसम्मको भन्सार तथ्याङ्क अनुसार गत वर्षको सोहीको महिनाको तुलनामा अन्तर्राष्ट्रिय व्यापारमा २.७५ प्रतिशतको सङ्कुचन देखिएको हो । 

गत वर्ष माघसम्म १० खर्ब १२ अर्ब रुपियाँको कुल अन्तर्राष्ट्रिय व्यापार रहेकोमा समीक्षा महिनासम्म नौ खर्ब ८४ अर्ब रुपियाँको कुल व्यापार देखिन्छ । कुल व्यापारमा ९१ प्रतिशतभन्दा बढी हिस्सा आयातको रहे पनि आयात करिब २१ अर्ब रुपियाँले घटेको तथ्याङ्कले देखाउँछ ।

माघसम्म नेपालले आठ खर्ब ९७ अर्ब ९४ करोड रुपियाँको वस्तु आयात गरेको छ । गत वर्ष माघसम्म नौ खर्ब १९ अर्ब १६ करोड रुपियाँको वस्तु आयात भएको थियो । 

सुधारको लय समातेको निर्यात पनि बढ्न सकेको छैन । गत वर्ष माघसम्म ९३ अर्ब ४३ करोड रुपियाँको वस्तु निर्यात भएकोमा यस वर्ष माघसम्म ७.०७ प्रतिशतले घटेर ८६ अर्ब ८३ करोड रुपियाँको मात्र निर्यात भएको देखिन्छ । 

कुल वस्तु आयातमध्ये सबैभन्दा धेरै आयात हुनेमा डिजेल रहेको छ । माघसम्म ७७ अर्ब ४१ करोड रुपियाँको डिजेल आयात भएको छ । त्यसपछि ३८ अर्ब ८२ करोड रुपियाँको पेट्रोल आयात भएको छ । पेट्रोलपछि ३० अर्ब ३१ करोड रुपियाँको एलपी ग्यास, २२ अर्ब ६६ करोड रुपियाँको फलाम र १७ अर्ब ३८ करोड रुपियाँको स्मार्टफोन आयात भएको विभागको तथ्याङ्क छ ।

निर्याततर्फ सबैभन्दा धेरै छ अर्ब सात करोड रुपियाँसहित गलैँचा शीर्ष स्थानमा छ । त्यसपछि ठुलो अलैँची चार अर्ब ४४ करोड रुपियाँको निर्यात भएको तथ्याङ्कले देखाउँछ । चार अर्ब २१ करोड रुपियाँको फलामे छड आयात भएको छ । छड निर्यातमा सरकारले अनुदान बढाउँदा त्यसको प्रभाव फलामे छड निर्यातमा देखिएको छ । 

समीक्षा अवधिसम्म नेपालले सबैभन्दा धेरै भारतबाट पाँच खर्ब ५४ अर्ब ७५ करोड रुपियाँको वस्तु आयात गरेको छ भने ५८ अर्ब ७२ करोड रुपियाँको वस्तु निर्यात गरेको छ । चीनबाट एक खर्ब ७३ अर्ब नौ करोड रुपियाँको वस्तु आयात हुँदा एक अर्ब ८५ करोड रुपियाँको वस्तु निर्यात भएको छ । त्यसपछि संयुक्त अरब इमिरेट्सबाट १५ अर्ब ६९ करोड रुपियाँको वस्तु आयात भएको देखिन्छ । 

प्रतिक्रिया दिनुहोस्