व्यापार तथ्यांकले गरेन सुधारको संकेत



काठमाडौं,फागुन ११ । सरकारले अर्थतन्त्रमा सुधार देखिन थालेको दाबी गरिरहेका बेला सरकारी निकायबाटै उक्त दाबीलाई समर्थन नगर्ने खालको तथ्यांक सार्वजनिक भएको छ । भन्सार विभागले बुधवार सार्वजनिक गरेको वैदेशिक व्यापारको तथ्यांकले मुलुकभित्र मागको अवस्था अझै पनि कमजोर नै रहेको संकेत गरेको हो । 

उद्यमी व्यवसायीले आन्तरिक मागको अवस्थामा सुधार आउनै नसकेको बताइरहेका छन् । आयातमा प्रतिबन्ध लागेको गतवर्षको भन्दा पनि कम वस्तु आयात भएको तथ्यांकले अर्थतन्त्रमा सुधार आइरहेको भन्ने सरकारी दाबीलाई नभएर उद्यमी व्यवसायीको दाबीलाई समर्थन गरेको छ । 

गत माघसम्ममा मुलुकमा ८ खर्ब ९७ अर्ब रुपैयाँभन्दा बढी मूल्यको वस्तु आयात भएको छ । अघिल्लो आर्थिक वर्ष (आव) को यसै अवधिको तुलनामा यो वर्ष आयात २ दशमलव ३१ प्रतिशतले घटेको देखिन्छ । गतवर्ष माघसम्ममा ९ खर्ब १९ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको तथ्यांक छ । 

निर्यात पनि उच्च अंकले घटेको भन्सारको तथ्यांकले देखाउँछ । गत आवको साउन–माघमा ९३ अर्ब ४३ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएकोमा यस वर्ष ७ दशमलव शून्य ७ प्रतिशतले घटेर ८६ अर्ब ८३ करोड रुपैयाँमा सीमित भएको छ । 

आयात घट्नुमा निर्यातको पनि प्रत्यक्ष हात छ । नेपाली उद्योगहरूले निर्र्यातयोग्य वस्तु उत्पादनका लागि आवश्यक कच्चा पदार्थ आयात गर्ने भएकाले निर्यातमा गिरावटको असर आयातमा पनि पर्छ । विगतमा स्वदेशी उद्योगहरूले ठूलो परिमाणमा प्रशोधित खानेतेल निर्यात गर्दा सोको कच्चा पदार्थ अप्रशोधित तेल ठूलो परिमाणमा आयात हुने गरेको थियो । 

गतवर्षको तुलनामा यस वर्ष डिजेल, पेट्रोल, एलपीजी ग्यास, स्मार्टफोन, सुन, इलेक्ट्रोनिक गाडीलगायत वस्तुको आयात बढे पनि निर्यातमा मुख्य अंश ओगट्ने अप्रशोधित पाम, सोयाबिन तेललगायतको आयातमा भारी गिरावट देखिएको छ । 

गत आव २०७९/८० को भदौ १४ गतेसम्म २०७९ वैशाख १३ गतेदेखि विभिन्न १० वस्तुको आयातमा लगाइएको प्रतिबन्ध कायमै थियो । फलस्वरूप उक्त अवधिसम्म एम्बुलेन्स र शववाहनबाहेकका कार, जीप भ्यान, औद्योगिक कच्चा पदार्थबाहेक सबै प्रकारका तयारी मदिरा, १५० सीसीभन्दा बढी क्षमताका मोटरसाइकल र ३०० अमेरिकी डलरभन्दा बढी मूल्यका स्मार्टफोन, कुरकुरे लेजजस्ता खानेकुरा, ३२ इन्चभन्दा ठूलो आकारका रंगीन टेलिभिजन, खेल्ने तास, कच्चा पदार्थबाहेकको हीरा, कच्चा पदार्थबाहेकको चुरोट तथा सुर्तीजन्य वस्तु र सबै प्रकारका खेलौना आयात हुन पाएको थिएन ।

भदौ १४ पछि कुरकुरे लेजजस्ता खानेकुरा, ३२ इन्चभन्दा ठूलो आकारका रंगीन टेलिभिजन, खेल्ने तास, कच्चा पदार्थबाहेकको हीरा, कच्चा पदार्थबाहेकको चुरोट तथा सुर्तीजन्य वस्तु र सबै प्रकारका खेलौना भने आयात प्रतिबन्ध फुकुवा गरिएको थियो । बाँकी वस्तुको आयातमा प्रतिबन्ध मङ्सिर मसान्तसम्म कायमै थियो । यसपालि ती वस्तुको आयातमा प्रतिबन्ध नहुँदा पनि पोहोरको तुलनामा आयात घटेको छ । 

दुई वर्षअघि यही बेलातिर नीति निर्मातालाई अत्याएको आयात घट्नुलाई राम्रो मान्नुपर्नेमा यसले अर्थतन्त्र चलायमान हुन नसकेको र आर्थिक वृद्धिका लागि बढ्नुपर्ने बजार माग घटेको देखाएकाले सबैका लागि चिन्ताको विषय बनेको छ । 

मुलुकभित्र आर्थिक क्रियाकलाप बढाउने उद्देश्यले नेपाल राष्ट्र बंैंकले कसिलो मौद्रिक नीति पुनरवलोकन गर्नुका साथै ब्याजदर पनि घटाइरहेको छ । तर, त्यसले वैदेशिक व्यापारमा सुधार ल्याउन सकेको छैन । 

अर्थशास्त्री केशव आचार्य बजारमा माग नै घटेकाले वैदेशिक व्यापार खुम्चिनु स्वाभाविक भएको बताउँछन् । ‘आर्थिक गतिविधिमा कमी आउँदा बजारमा हरेक सामानको माग घटिरहेको छ,’ उनले भने, ‘यसबाट वैदेशिक व्यापार प्रभावित भएको छ ।’

आयात र निर्यात दुवै खुम्चिँदा कुल वैदेशिक व्यापारको आकार २ दशमलव ७५ प्रतिशतले खुम्चिएको छ । गत गत आवको माघसम्ममा १० खर्ब १२ अर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार भएकोमा यस वर्ष ९ खर्ब ८४ अर्ब रुपैयाँमा खुम्चिएको हो । 

आयात घट्दा मुलुकको व्यापारघाटा पनि १ दशमलव ७७ प्रतिशतले खुम्चिएको छ । गतवर्ष माघसम्ममा ८ खर्ब २५ अर्ब रुपैयाँभन्दा बढी व्यापारघाटा रहेकोमा यस वर्ष ८ खर्ब ११ अर्ब रुपैयाँमा ओर्लेको भन्सार विभागले जानकारी दिएको छ । चालू वर्षको पुसको तुलनामा भने माघमा आयात र निर्यात दुवैमा थोरै सुधार देखिएको छ । पुसभन्दा माघमा करीब ४ अर्ब रुपैयाँले आयात र १० करोड रुपैयाँले निर्यात बढेको विभागको तथ्यांकले देखाउँछ ।

माघसम्ममा आयातबाट संकलन हुने राजस्वमा भने सुधार देखिएको छ । चालू आवको ७ महीनामा सरकारले भन्सारबाट २ खर्ब ३६ अर्ब ३८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । गत आवको यसै अवधि भन्सारबाट २ खर्ब १२ अर्ब १२ करोड रुपैयाँ राजस्व संकलन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्