प्रसूतिगृहबाट नवजात शिशु चोरी गर्ने महिला सार्वजनिक



काठमाडौं,फागुन १२ । काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूतिगृह तथा स्त्री रोग अस्पतालबाट शुक्रबार नवजात शिशु चोरी गर्ने महिलालाई प्रहरीले सार्वजनिक गरेको छ । शिशु चोरीमा संलग्न दैलेक नौमूले गाउँपालिका-१ घर भई हाल काठमाडौँ काँडाघारी बस्ने २४ वर्षीया मनकुमारी सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले शुक्रबार राति निज बस्ने कोठाबाट पक्राउ गरी शनिबार सार्वजनिक गरेको हो । चोरी गरिएकी शिशुलाई उद्धारपछि आफन्तको जिम्मा लगाई अहिले काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । 

उक्त घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रवक्ता एवम् प्रहरी उपरीक्षक अधिकारीले बताए । काभ्रेपलाञ्चोकको चौरी देउराली गाउँपालिका-३ घर भई हाल काठमाडौँको कपन बस्दै आएकी २२ वर्षीया सविना श्रेष्ठले शुक्रबार दिउँसो प्रसूतिगृहबाट २६ दिनको आफ्नो शिशु चोरी भएको भन्दै प्रहरीलाई मौखिक सूचना दिएपछि प्रहरीले सोही दिनदेखि खोजी सुरु गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्