प्रो–बोनो राष्ट्रिय सम्मेलनमा जोखिम समूहको चिन्ता



काठमाडौं,फागुन १४ । कानून कलेजहरूको प्रो–बोनो राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ । सम्मेलनमा उपत्यकाका कानून क्याम्पसमा अध्ययनरत विद्यार्थी, कानून व्यवसायी, प्राध्यापक लगायतको सहभागिता थियो । विश्वमा प्रो–बोनोको महत्त्व र भूमिका बढी रहे पनि नेपालमा त्यति धेरै अभ्यास नभइरहेको बेला यस्तो सम्मेलन भएको हो ।

प्रो–बोनो भनेको कानून व्यवसायीहरूले पेशाको क्रममा सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिकरूपले कमजोर समूहलाई निःशुल्क रूपमा कानूनी सहायता प्रदान गर्नु हो । आइरेक्सको सहयोगमा मानव अधिकारका लागि जनमञ्चले आयोजना गरेको सम्मेलनमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालयसँग सम्बद्ध कलेजहरूले सहभागिता जनाएका थिए । 

सम्मेलनमा बोल्दै नायब महान्यायाधिवक्ता सन्जिवराज रेग्मीले नेपालमा कानूनी सहायता खोज्नेहरूमा ठूलो समूह विपन्न रहेकाले प्रो–बोनो सेवा चाहिएको बताए । ‘प्रो–बोनो सेवाले कानूनी शाषणलाई बलियो बनाउने भएकाले यसको झनै महत्त्व छ,’ उनले भने ।

प्रो–बोनो कानून व्यवसायीहरूको राष्ट्रिय सञ्जालका संयोजक सोम लुइँटेलले जोखिम समूहका रहेकाहरूले निःशुल्क रूपमा कानूनी सहायता प्राप्त गर्न सकून् भन्ने मनसायबाट प्रेरित भएर सम्मेलन आयोजना गरिएको उल्लेख गर्दै यसका लागि नीतिगत तहमा सुधार गर्न आवश्यक रहेको बताए । 

नेपाल बार एशोसियशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले विश्वका अन्य मुलुकझै नेपालका कानून व्यवसायीले पनि प्रो–बोनो अभ्यासलाई जोड दिन आवश्यक रहेको बताए । विभिन्न विषयमा विज्ञहरूले कार्यपत्र प्रस्तुत गरी टिप्पणी तथा छलफल गरिएको सम्मेलनले ९ बुँदे काठमाडौं घोषणापत्र समेत जारी गरेको छ । 

प्रतिक्रिया दिनुहोस्