कृषि विकास बैंक र ॐ हस्पिटलबीच सेवा व्यवसाय विस्तार सम्झौता



काठमाडौं,फागुन १४ । कृषि विकास बैंक लिमिटेड र ॐ हस्पिटल एन्ड रिसर्च सेन्टरबीच आपसी सेवा व्यवसाय विस्तारका लागि सम्झौता भएको छ । 

बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङको उपस्थितिमा कृषि विकास बैंक लिमिटेड, केन्द्रीय कार्यालय, रामशाहपथमा भएको सम्झौता हस्ताक्षर समरोहमा बैंकका तर्फबाट उपमहाप्रबन्धक यज्ञ प्रकाश न्यौपाने र हस्पिटलका तर्फबाट कार्यकारी प्रमुख यम बहादुर महतले हस्ताक्षर गरे । 

सम्झौता अनुसार कृषि विकास बैंकका खातावाला ग्राहकले ॐ हस्पिटलको ओपीडी शुल्क बाहेकका अन्य सेवामा १० प्रतिशत छूट पाउनेछन् । साथै उक्त छूट सुविधा बैंकका कर्मचारी तथा कर्मचारी परिवारले पनि प्राप्त गर्न सक्नेछन् ।

समारोहमा बैंकका मार्केटिङ तथा सेल्स विभागका प्रमुख वीना शर्मा, वरिष्ठ शाखा प्रमुखहरू कमल ओझा, सुदिल घिमिरे र ॐ हस्पिटलका विजनेश डेभलपमेन्ट म्यानेजर विनोद अधिकारीको उपस्थिति थियो । 

२०२४ माघ ७ गते स्थापना भएको बैंकको हाल ७ वटै प्रदेशका ७७ जिल्लामा २८३ वटा शाखा कार्यालय छन् । बैंकका विभिन्न जिल्लामा १६ वटा एक्सटेन्सन काउन्टर छन् ।

बैंकले १२९ वटा एटीएम मेसिनबाट पनि सेवा दिइरहेको छ । यससँगै बैंकले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्रेडिट कार्ड, डेबिट कार्ड, ओभरड्राफ्ट कार्डलगायतका सेवा दिइरहेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्