तीन कम्पनीको १ करोड २२ लाखभन्दा बढी कित्ता बोनस शेयर सूचीकृत



काठमाडौं,फागुन १४ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा तीन कम्पनीको बोनस शेयर आइतवार सूचीकृत भएको छ । नेपाल इन्स्योरेन्स, शिवम् सिमेन्ट्स र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको कुल १ करोड २२ लाख ६२ हजार ८४३ दशमलव ३७ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । यी तीनओटै कम्पनीका शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।  

नेपाल इन्स्योरेन्सको १४ लाख ९४ हजार ७६६ कित्ता बोनस शेयर सूचीकृत भएको छ । यस कम्पनीले पुस १३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । सो सभाले कर प्रयोजनको लागि शून्य दशमलव ५२६३ प्रतिशत नगद लाभांश पारित गरेको थियो । 

त्यस्तै शिवम सिमेन्ट्सको ६२ लाख ७० हजार कित्ता बोनस शेयर सूचीकृत भएको छ । कम्पनीले पुस २७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १४ दशमलव २५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । सो सभाले कर प्रयोजनको लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश पारित गरेको थियो ।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ४४ लाख ९८ हजार ७७ दशमलव ३७ कित्ता बोनस शेयर सूचीकृत भएको छ । कम्पनीले मङ्सिर ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० दशमलव ५० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । सो सभाले कर प्रयोजनको लागि शून्य दशमलव ८९ प्रतिशत नगद लाभांश पारित गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्