सुनसान अन्नपूर्ण पदमार्गमा देखिन थाले पर्यटक



लमजुङ,फागुन १५ । चक्रीय अन्नपूर्ण पदमार्गमा यतिबेला पर्यटकको आगमन हुन थालेको छ । केही समयअघिसम्म सुनसान रहेको यस पदमार्गमा अहिले पर्यटकीय याम शुरु भएकाले पर्यटकको चहलपहल हुन थालेको हो । चिसो बढेसँगै करिब दुई महीनादेखि सुनसान रहेको यस पदमार्गमा यतिबेला दैनिक २५/३० जनाको हाराहारीमा विदेशी पर्यटक आउने गरेको मनाङको धारापानीस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्रका इञ्चार्ज भूपेन्द्र गुरुङले बताए । 

उनले विगतमा दैनिक पाँचभन्दा बढीसम्म पर्यटक आउने गरेकामा अब विस्तारै बढ्दै जाने अपेक्षा रहेको बताए । चिसो मौसमका कारण पर्यटक नआउँदा सुनसान बन्दै गएको यस पदमार्गमा पर्यटक आउन थालेसँगै पर्यटन व्यवसाय चल्न थालेको उनको भनाइ थियो । 

चिसो छल्नका लागि मनाङवासी बाहिरी जिल्ला गए पनि उनीहरूसमेत विस्तारै आउने क्रममा छन् । मर्स्याङ्दी गाउँपालिका–४ का पर्यटन व्यवसायी पञ्चबहादुर गुरुङले पर्यटकको आगमन ठप्प भएसँगै आफूहरु फुर्सदिलो बने पनि यतिबेला पर्यटक आगमन आउन थालेसँगै व्यस्त हुन थालेको बताए ।  

प्रतिक्रिया दिनुहोस्