धरानमा विमानस्थल बनाउन सम्भव छैन : नागरिक उड्डयन प्राधिकरण



काठमाडौं,फागुन १६ । नेपाल नागरिक उड्डयन प्राधिकरणले सुनसरीको धरान उपमहानगरपालिका क्षेत्रमा विमानस्थल निर्माण गर्न सम्भव नभएको निष्कर्ष निकालेको छ । प्राधिकरणको यो निष्कर्षपछि उक्त स्थानमा विमानस्थल नबन्ने पक्का भएको हो । 

धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले विमालस्थल बनाइछाड्ने योजना बनाएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले उक्त क्षेत्रमा विमानस्थल बनाउन विस्तृत सम्भाव्यता अध्ययन (डीपीआर) गरेको थियो । अध्ययनबाट सो क्षेत्रमा विमानस्थल निर्माण गर्न नसकिने देखिएको प्राधिकरणले पत्रकारहरूसँग मंगलवार शेयर गरेको एक दस्तावेजमा भनेको छ ।

उक्त क्षेत्रमा विमानस्थल बनाउनु विद्यमान हवाई नीति, २०६३ को व्यवस्थाविपरित हुने प्राधिकरणको ठहर छ । उक्त नीतिमा “तराई तथा भित्री मधेशमा विमानस्थल निर्माण गर्दा निकटस्थ विमानस्थलबाट कम्तीमा ४० नटिकल माईल हुनुपर्ने” व्यवस्था छ । 

‘आर्थिक विश्लेषणपश्चात सडक यातायातको सहज उपलब्धता तथा त्यस क्षेत्रको भौगोलिक अवस्थितिले गर्दा एकतर्फी दृष्टिकोणले मात्र सम्भव हुँदा हवाई यातायातको दीर्घकालीन, नियमित र व्यावसायिक सम्भावना नभएको तथा अन्य विविध प्राविधिक तथा सञ्चालन बाधाले कारण उक्त ठाउँमा विमानस्थल निर्माण गर्न उपयुक्त नरहेको प्राधिकरणको निष्कर्ष रहेको छ,’ दस्तावेजमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्