एसियाली राजमार्ग निर्माणका लागि रुख कटान शुरु



झापा,फागुन १८ । एसियाली राजमार्ग निर्माणका लागि काँकरभिट्टाबाट रुख कटान शुरु भएको छ ।

‘दुई लेन’सडकलाई चार लेनमा रूपान्तरण गर्ने उद्देश्यअनुरूप निर्माण शुरु गरिएको एसियाली राजमार्गमा बिहीबारदेखि रुख कटान शुरु भएको डिभिजन वन कार्यालयका प्रमुख मेघराज राईले बताए । 

राजमार्ग निर्माणका लागि काँकरभिट्टा–सीतापुरीलाई पूर्वीखण्ड र सीतापुरी–मावा खोलालाई पश्चिम खण्डमा विभाजन गरिएको छ । उनका अनुसार पूर्वी खण्डको ठेक्का प्रक्रिया सम्पन्न भइसकेकाले काँकरभिट्टा–सितापुरीसम्मको ४५ किलोमिटर सडकका चार हजार ७२३ रुख बिहीबारदेखि काट्न थालिएको हो ।

उनले निर्माण ठेक्का पाएको कम्पनीले दुई महीनाभित्रमा काँकरभिट्टादेखि केर्खासम्मका रुख कटान गरिसक्नुपर्ने जानकारी दिए । प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बिहीबार बिहान धुलाबारीमा पूजापाठ गरी रुख कटान शुरुआत गरेका हुन् । 

रुख कटानसँगै सडक विस्तारको काम शुरु भएको एसियाली विकास बैंक आयोजना कार्यालय, दमकका प्रमुख सुनिलबाबु पन्तले बताए । उनले राजमार्गका उत्तर दक्षिण विभिन्न भागमा ‘साइड क्लियरेन्स’को काम भइरहेको बताए । ‘काम शुरु गर्न रुख नै बाधक थियो,’ उनले भने, ‘रुख काट्ने अनुमति हिजो आएर कटान शुरु भयो । अब द्रुतगतिमा काम हुन्छ ।’ उनले सडक निर्माणसँगै जमिनमुनिका पानीका पाइप र बिजुलीको खम्बा हटाइने बताए । 

एसियाली विकास बैंकको सहयोगमा निर्माण शुरु भएको काँकरभिट्टादेखि केर्खासम्मको सडक करीब रु. १० अर्बको लगानीमा सम्पन्न हुने गरी ठेक्का एभ्रासकन कालिका जेभीले लिएकोे छ । 

एसिया महादेशका ३२ मुलुकलाई जोड्ने ‘एसियाली राजमार्ग’ अन्तर्गत नेपालको एक किलोमिटर भागमा मेचीपुल निर्माणसँगै संरचना पूर्णरूपमा निर्माण भइसकेका छन् । 

फराकिलो सडकका कारण सडकमा हुने सवारी दुर्घटना घटाउन तथा पूर्वी नाकाबाट स्थलमार्ग हुँदै आउने पर्यटकको सङ्ख्या बढ्ने हुँदा मुलुकको अर्थतन्त्रमै टेवा पुग्ने अपेक्षा गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्