नेदरल्यान्ड्समाथि शानदार जित निकाल्दै नेपाल फाइनलमा



नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै नेपाल त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा पुगेको छ । अब नामिबिया र नेदरल्यान्ड्समध्ये एक टोलीमात्र फाइनलमा पुग्न सक्नेछन् । भोलि नेदरल्यान्ड्स र नामिबियाबीचको नतिजाबाट फाइनल पुग्ने टोलीको निर्धारण हुनेछ ।

सिरिजको एक खेल बाँकी रहँदा नेदरल्यान्ड्स ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ शीर्षस्थानमा छ । नेदरल्यान्ड्सको नेटरनरेट ०.३१० छ । नेपाल ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । नेपालको नेटरनरेट ०.२९३ छ । नामिबिया  ३ खेलमध्ये १ मा जित र २ मा हारसहित २ अंकका साथ पुछारमा छ । नामिबियाको नेटरनरेट माइनस ०.७०० छ । भोलिको खेलमा नेदरल्यान्ड्स विजयी भए नेदरल्यान्ड्स र नेपालबीच मंगलबार फाइनल हुनेछ । भोलिको खेलमा ठूलो अन्तरका साथ नामिबिया विजयी भए नामिबिया र नेपाल फाइनल पुग्न सक्छन् । 

शनिबारको खेलमा नेपालले रनरेट सुधारकाले भोलिको नतिजा जे आए पनि नेपाल फाइनल पुग्ने देखिएको छ । यदि नेदरल्यान्ड्स विजयी भए रनरेट आवश्यक नै पर्नेछैन, तर नामिबिया विजयी भए रनरेटले फाइनल पुग्ने टिमको टुंगो लाग्नेछ । शनिबार नेपाल र नेदरल्यान्ड्सबीच रनरेटमा मात्र ०.१७ को फरक छ । यदि नेदरल्यान्ड्स नामिबियासँग पराजित भए उसको रनरेट पक्कै पनि घट्नेछ । यस्तो अवस्थामा नेपाल फाइनल पुग्नेछ । 

नेपाल पहिलो खेलमा नामिबियासँग २० रन र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले हारेको थियो । तेस्रो खेलमा नामिबियालाई ३ रनले हराएको थियो । फाइनल खेल मंगलबार हुनेछ ।

आज कीर्तिपुर मैदानमा नेदरल्यान्ड्सले दिएको १२१ रनको लक्ष्य पछ्याएको नेपालले १५.२ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । नेपालको जितमा कप्तान रोहित पौडेलले ४६, गुल्सन झाले ३८, कुशल भुर्तेलले १२ र आसिफ शेखले ८ रन जोडे ।

टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले १९. ३ ओभरमा सबै १० विकेट गुमाएर १२० रन बनाएको थियो । नेदरल्याण्ड्सका म्याक्स ओडाउडले सर्वाधिक ३१ रन बनाए । टिम भान डर गुगटेन र रोलेफ भान डर मर्वेले २३/२३ र स्कट एडवार्ड्सले १८ रन बनाउन बाहेक अन्य ब्याटरले दोहोरो अंक बनाउन सकेनन् ।

नेपालका प्रतिश जिसीले तीन, करण केसी र कुशल मल्लले दुई/दुई र दीपेन्द्रसिंह ऐरीले एक विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्