सिन्धुपाल्चोकको एक कृषि फार्ममा आगलागी हुँदा २०० बाख्रा जले



चौतारा,फागुन २० । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१० लप्सेमा रहेको विष्णु कृषि एग्रो फार्ममा आइतबार आगलागी हुँदा २०० बाख्रा जलेर मरेका छन् । 

आगलागीले गर्दा बाख्रासँगै दाना, खोर र औषधिसमेत जलेर नष्ट भएको छ । आगलागीले रु एक करोड ५० लाख बराबरको क्षति भएको सञ्चालक विनोद खड्काले जानकारी दिए । हाई भोल्टेजका कारण विद्युत् लाइन सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ । वैदेशिक रोजगारबाट फर्किएका खड्काले रु एक करोड लगानी गरेर बयर जातका बाख्रा फार्म सञ्चालन गर्दै आएका थिए ।

आधुनिक तरिकाले खोर बनाएर दुई तलामै खड्काले बाख्रापालन गर्दै आएका थिए । खोरमा रहेका एउटै बयर जातका बोका तथा बाख्राको रु एकलाख ५० हजारदेखि दुई लाखसम्म मूल्य पर्छ ।  

प्रतिक्रिया दिनुहोस्