भारतको जीडीपीमा ८.४ प्रतिशत वृद्धि, ठूला अर्थतन्त्र भने समस्यामा !



काठमाडौं,फागुन २१ । भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा ८.४ प्रतिशत वृद्धि भएको छ । 

समाचार संस्था बीबीसीको अनलाइनमा प्रकाशित समाचार अनुसार एक वर्षअघिको तुलनामा सन् २०२३ को अन्तिम त्रैमासमा भारतको अर्थतन्त्रमा उक्त वृद्धि भएको हो । यससँगै भारतले सबैभन्दा द्रूत गतिमा वृद्धि हुने अर्थतन्त्र कायमै भएको छ । 

भारतको अर्थतन्त्रमा वृद्धिको समाचारसँगै प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल ‘एक्स’मा पोष्ट लेखेका छन्, ‘यसले भारतीय अर्थव्यवस्थाको बल र यसको सम्भावना देखाउँछ ।’ 

केही महीनाअघि भारतको अर्थतन्त्र ४ ट्रिलियन डलर पुगेको छ । भारतले अबको केही वर्षमा आफ्नो अर्थतन्त्र ५ ट्रिलियन बनाउने लक्ष्य लिएको छ । 

गत वर्ष प्याजजस्ता मुख्य खाद्यान्न महँगो हुँदा जनताको खर्च शक्ति प्रभावित भएको थियो । त्यसपछि सरकारले मुद्रास्फीति नियन्त्रण गर्न विभिन्न उपायहरू ल्याएको थियो ।

हालैका वर्षहरूमा, प्रधानमन्त्री मोदीले पूर्वाधारमा सरकारी खर्च बढाएका छन् । यस्तै, भारतलाई अन्तरराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न मद्दत गर्न फोन, इलेक्ट्रोनिक्स, ड्रोन र सेमीकन्डक्टरहरूको उत्पादनलाई बढावा दिन प्रोत्साहन प्रस्ताव गरेका छन् ।

भारतको अर्थतन्त्रमा वृद्धि देखिँदा ऊभन्दा ठूला अर्थतन्त्र भने समस्यामा देखिएका छन् । विश्वको तेस्रो र चौथो ठूलो अर्थव्यवस्था जापान र जर्मनीमा अर्थतन्त्रमा संकुचन देखिएको छ । सन् २०२३ को अन्तिम त्रैमासमा जापानको अर्थतन्त्र मन्दीमा गएको छ भने जर्मनीको अर्थतन्त्र मन्दीमा जाने खतरामा छ । त्यहाँको केन्द्रीय बैंकले यो वर्ष (सन् २०२४)को पहिलो त्रैमासमा देशको अर्थतन्त्र मन्दीमा जान सक्ने चेतावनी दिइसकेको छ । 

विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनको अर्थतन्त्रमा पनि पछिल्लो समय चुनौती देखिएको छ । चीनले पछिल्लो समय सम्पत्ति बजारको संकट, युवा बेरोजगारीलगायत समस्या भोगिरहेको छ । 

यता अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०२४ मा भारतको अर्थतन्त्र ६.५ प्रतिशतले विस्तार हुने अपेक्षा गरेको छ । चीनमा भने यो वृद्धि ४.६ प्रतिशत मात्र हुने आईएमएफको प्रक्षेपण छ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्