क्यानडामा निकासी बढाउन काम गर्ने राजदूत पौडेलको प्रतिबद्धता



काठमाडौं,फागुन २१। मित्रराष्ट्र क्यानडाका लागि नवनियुक्त नेपाली राजदूत भरतराज पौडेलले क्यानडामा नेपाली वस्तुको निकासी प्रवर्द्धन गर्न नेपालको निजीक्षेत्रसँग निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

नेपाल–क्यानडा उद्योग वाणिज्य संघले राजदूत पौडेललाई बधाइ तथा शुभकामना दिन आयोजना गरेको कार्यक्रममा उनले भने, ‘क्यानडामा नेपाली वस्तुको निकासी बढाउन केही गरेर देखाउने मेरो उद्देश्य छ । सोको लागि म निरन्तर यहाँहरुसँग सहकार्यमा रहनेछु ।’ 

नेपाली र क्यानडियन व्यवसायीबीच (बीटूबी) अन्तरक्रिया बढाउनेमा आफू केन्द्रित रहने पनि उनले बताएको संघले जनाएको छ । ‘बीटूबी अन्तरक्रिया मेरो कार्यसूचीको प्राथमिक विषयमध्येमा छ,’ राजदूत पौडेलले भने । क्यानडामा आयोजना हुने ठूला व्यापारिक मेलाहरूमा नेपाली व्यवसायीको सहभागिताको लागि नियोगले पहल गर्ने बताएका उनले सोको लागि संस्थागत हिसाबले नै पत्राचार गरिने प्रतिबद्धता व्यक्त गरेको संघको भनाइ छ । 

राजदूत पौडेलले नेपालबाट क्यानडामा निकासीको सम्भावना भएका वस्तुको डिजिटल प्रचार सामग्री आफूलाई उपलब्ध गराइदिन पनि आग्रह गरेका छन् । नियोगले आयोजना गर्ने कार्यक्रमहरूमा त्यस्ता प्रचार सामग्री डिस्प्ले गर्ने उनले जानकारी दिए । प्रचार सामग्री तयार गर्दा गुणस्तरमा ध्यान दिन पनि उनले सुझाए । ‘प्रचार सामग्रीको गुणस्तरले पनि ठूलो अर्थ राख्छ,’ पौडेलले भने । 

यसअघि संघका अध्यक्ष रतनलाल केडियाले नेपाल र क्यानडाबीचको व्यापारिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यले संघ स्थापना भएको जानकारी गराउँदै यसले द्विपक्षीय व्यापार, पर्यटन र लगानी प्रवर्द्धनको लागि काम गर्ने बताएका थिए । नेपाली वस्तुले क्यानडियन बजारमा पाइरहेको भन्साररहित प्रवेश सुविधाको अवधि सन् २०२६ पछि पनि बढाउन नेपालले तत्कालैदेखि क्यानडा सरकारसँग छलफल गर्नुपर्ने उनको भनाइ छ ।

नेपालको निजीक्षेत्रलाई क्यानडाको बजार र लगानीकर्तासम्मको पहुँच सहज बनाउन राजदूतबाट पहल हुने अपेक्षा अध्यक्ष केडियाको छ । क्यानडामा हुने व्यापारिक मेला तथा अन्य कार्यक्रममा नेपाली व्यवसायीको सहभागिताका लागि पहल गरिदिन तथा क्यानडियन बजारको आवश्यकता र संरचनासम्बन्धी ताजा जानकारी उपलब्ध गराइदिन पनि उनले आग्रह गरे । त्यसैगरी व्यापारिक प्रतिनिधिमण्डलको आदानप्रदानमा पनि राजदूतबाट सहजीकरणको अपेक्षा राखे ।

संघका उपाध्यक्ष शिवकुमार अग्रवालले क्यानडियन बजारमा नेपाली वस्तुको निकासी बढाउने र नेपालका सम्भाव्य क्षेत्रमा क्यानडियन लगानीकर्तालाई आकर्षित गर्नेमा संघ विशेष रूपमा केन्द्रित हुने जानकारी गराए । 

प्रतिक्रिया दिनुहोस्