७ महीनामा २० करोडको मात्र स्मार्ट घडी भित्रियो



काठमाडौं,फागुन २२ । पछिल्लो समय नेपालमा स्मार्ट वाच आयात घटेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ७ महीनामा नेपालमा २० करोड ६ लाख ९२ हजार रुपैयाँको स्मार्ट वाच भित्रिएको छ । उक्त मूल्यको १ लाख ६३ हजार ८७३ थान स्मार्ट वाच आयात भएको विभागको तथ्यांक छ । 

गत आवको सोही अवधिमा २८ करोड ९९ लाख ७७ हजार रुपैयाँ बराबरको १ लाख ९४ हजार ३१३ थान स्मार्ट वाच नेपाल भित्रिएको थियो । गत आवको ७ महीनाको तुलनामा यो आवको सोही अवधिमा स्मार्ट वाच आयात परिमाणमा १५ प्रतिशतले र मूल्यमा ३० प्रतिशतले घटेको छ।

नेपालमा विभिन्न मुलुकबाट स्मार्ट वाच भित्रिने गरेको छ । चालु आवको ७ महीनामा नेपालले क्यानडा, चीन, हङकङ, भारत, जापान, जोर्डन, कोरिया, लेबनान, मलेसिया, नेदरल्याण्ड्स, फिलिपिन्स, पोर्चुगल, कतार, साउदी अरेबिया, सिङ्गापुर, स्पेन, ताइवान, संयुक्त अरब इमिरेट्स, युनाइटेड किंगडम, संयुक्त राज्य अमेरिका, उजबेकिस्तान, भियतनाम लगायतका देशबाट स्मार्ट वाच आयात गरेको विभागको तथ्यांकले देखाउँछ।

७ महीनामा चीनबाट सबैभन्दा धेरै स्मार्ट वाच भित्रिएको छ । चीनबाट मात्रै १७ करोड ४८ लाख ६८ हजार रुपैयाँ बराबरको १ लाख ५५ हजार ३६२ थान स्मार्ट वाच आयात गरिएको छ । यस्तै भारतबाट १ करोड ३५ लाख १३ हजार रुपैयाँ बराबरको ७ हजार ७९१ थान स्मार्ट वाच भित्रिएको विभागको तथ्यांकले देखाउँछ । 

प्रतिक्रिया दिनुहोस्