दलाई लामासमेत उपस्थित हुने ठानिएको लुम्बिनी शिखर सम्मेलन स्थगित



काठमाडौं,फागुन २२ । काठमाडौंमा सत्ता समीकरण बदलिएसँगै यही फागुन २८ र २९ गते लुम्बिनीमा आयोजना हुने तय भएको एउटा अन्तरराष्ट्रिय शिखर सम्मेलन स्थगित भएको छ । उक्त सम्मेलनमा भारतमा निर्वासित तिब्बती धर्म गुरू दलाई लामासमेत सहभागि हुने ठानिएको थियो ।

अमेरिकामा मुख्यालय भएको संस्था ‘लरिएट्स एण्ड लिडर्स’ले व्यवस्थापन गर्ने उक्त शिखर सम्मेलनको चौंथो संस्करण लुम्बिनीमा हुन लागेको हो । सन् २०१६ मा भारतमा भएको पहिलो शिखर सम्मेलनमा दलाई लामा सहभागी भएका थिए ।

बालबालिकाहरुको बहुआयामिक विकासका लागि काम गर्ने यो अन्तरराष्ट्रिय संस्थाले यस पटक लुम्बिनीमा कयौं अति विशिष्ट पाहुनालाई स्वागत गष्र्ने भनेको छ । सम्मेलनमा सहभागी हुन विभिन्न मुलुकका राष्ट्रप्रमुख, पूर्वराष्ट्रप्रमुख र कतिपय नोबेल पुरस्कार विजेताहरू लुम्बिनी आउने कार्यक्रम थियो ।

सोही ‘विशिष्ट पाहुना’को सूचीमा दलाई लामासमेत रहेको चर्चा भएको थियो ।

नेपालले ‘एक चीन नीति’ स्वीकार गरेका कारण चीन सरकारले ‘पृथकताबादी’ करर गरेको तत्कालिन तिब्बतका शासक दलाई लामालाई स्वागत गर्नु कूटनीतिक रुपमा बढी नै जोखिमपूर्ण हुने अवस्था थियो । तर यसैबीच यो साताको सुरुबाटै काठमाडौंमा सत्ता समीकरण फेरिने घटनाक्रम अघि बढेपछि उक्त सम्मेलनमाथि प्रश्न उठेको थियो ।

लुम्बिनी प्रदेश सरकारले अन्ततः उक्त सम्मेलन स्थगित गर्ने भएको हो । मंगलबार विहान बस्ने प्रदेश मन्त्रीपरिषदको बैठकले सम्मेलन स्थगित गर्ने निर्णय गर्न लागेको प्रदेशका एक मन्त्रीले जानकारी दिएका छन् ।

उक्त शिखर सम्मेलनका लागि लुम्बिनी प्रदेश सरकारले साढे ६ करोड रुपैयाँ बजेट समेत विनियोजन गरेको भनेर प्रतिपक्षी एमालेले चर्को विरोध गर्दै आएको थियो । माओवादी केन्द्रको एक खेमाले पनि उक्त सरकारी निर्णयको आलोचना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्