नयाँ सत्ता समीकरण : एकीकृत समाजवादीलाई सरकारमा बोलाउन दाहाल र ओलीको कसरत



काठमाडौं,फागुन २३ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग मंगलवार भेट गरेका छन् । 

एकीकृत समाजवादीलाई नयाँ सत्ता गठबन्धनमा सहभागी गराउन प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीले नेपाल निवास कोटेश्वरमै उनीसँग भेट गरेका हुन् । उनीहरूको साथमा एमाले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल पनि थिए । 

यसअघि सोमवार साँझ प्रधानमन्त्री दाहाल र माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका थिए ।

एमाले अध्यक्ष ओलीले पनि नेपाललाई फोन गरेर गठबन्धनमा सहभागी हुन आग्रह गरेका थिए । तर नेपालले यसबारे स्पष्ट जवाफ दिइसकेका छैनन् । यता एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले गठबन्धनबाट औपचारिक प्रस्ताव आए पार्टी सरकारमा जाने बताइसकेका छन् । 

अहिलेको नयाँ गठबन्धनमा नेकपा एमालेसहित नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी, नेपाल सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्