सुदूरपश्चिम सरकारमा जोगिएला शाहको मुख्यमन्त्री पद ?



धनगढी,फागुन २३ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा (माओवादी केन्द्र)बाट सरकारमा सहभागी दुई जना मन्त्री र एक राज्यमन्त्रीलाई बर्खास्त गरेका छन् ।

केन्द्रमा नेपाली कांग्रेस–माओवादीको गठबन्धन भंग भएर नेकपा एमालेसहितको नयाँ गठबन्धन बनेपछि कांग्रेसबाट मुख्यमन्त्री बनेका शाहले माओवादीबाट सरकारमा सहभागी मन्त्रीलाई बर्खास्त गरेका हुन् । बर्खास्त हुनेमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रमेश धामी, सामाजिक विकासमन्त्री झपट साउँद र उद्योग राज्यमन्त्री गीतादेवी माल छन् । माओवादी केन्द्रबाट सहभागी मन्त्री बर्खास्त भएसँगै उक्त मन्त्रालयको कार्यभार मुख्यमन्त्री आफैले लिएका छन् । 

मुख्यमन्त्री शाहको सिफारिसमा प्रदेश प्रमुख देवराज जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषदमा जिम्मेवारी हेरफेर र कार्यविभाजन गरेका हुन ।

जोगिएला शाहको मुख्यमन्त्री पद ?

माओवादी केन्द्रका मन्त्री बर्खास्त भए पनि एकीकृत समाजवादी र नाउपाका मन्त्री यथावत छन् । सुदूरपश्चिममा नाउपा र एकीकृत समाजवादीले समर्थन कायम राखे मुख्यमन्त्री शाहलाई बहुमत पुग्नेछ । ५२ सिटको प्रदेशसभामा बहुमतका लागि २७ सांसद आवश्यक पर्छन् । यी दुई दलले समर्थन गरे मुख्यमन्त्रीको पक्षमा २९ सांसद पुग्नेछन् । 

सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नाउपाका ७, एकीकृत समाजवादीका ४, राप्रपा एक र स्वतन्त्र एक जना सांसद छन् भने एउटा सिट रिक्त छ । 

प्रतिक्रिया दिनुहोस्