जेफ बेजोस बने विश्वकै सर्वाधिक धनी



अमेरिका,फागुन २३ । इलेक्ट्रिक गाडी उत्पादक कम्पनी टेस्ला र रकेट कम्पनी स्पेसएक्सका संस्थापक एलोन मस्कलाई पछि पार्दै अमेजोनका संस्थापक जेफ बेजोस विश्वकै धनी व्यक्ति बनेका छन् । ब्लूमबर्गले सार्वजनिक गरेको विश्वका धनी व्यक्तिको सूचीमा बेजोस शीर्षमा उक्लिएका हुन् ।

टेस्लाको शेयरमा ७.२ प्रतिशतले गिरावट आएपछि मस्कले ब्लूमबर्ग बिलिनियर्स इन्डेक्समा सबैभन्दा धनी व्यक्तिको स्थान गुमाएको ब्लूमबर्गले जनाएको छ। सन् २०२१ यता ब्लूमबर्गको सर्वाधिक धनी व्यक्ति रहेका मस्क अहिले एक स्थान तल झरेका हुन् । 

हाल उनको कुल सम्पत्ति १९८ बिलियन डलर छ । विश्वका सर्वाधिक धनी व्यक्ति बेजोसको कुल सम्पत्ति भने २०० बिलियन डलर पुगेको छ ।

विश्वका १० सर्वाधिक धनीमध्ये ९ जना अमेरिकाका छन् । स्टिभ बाल्मर १४३ बिलियन डलरसहित यो सूचीमा छैटौं स्थानमा छन् । अमेरिकाका अर्का लगानीकर्ता वारेन बफेट १३३ बिलियन डलरसहित सातौं स्थानमा छन् भने ल्यारी एलिसन (१२९ बिलियन डलर) आठौं, ल्यारी पेज (१२२ बिलियन डलर) नवौं र सेर्गे ब्रिन (११६ बिलियन डलर) दशौं स्थानमा छन् ।

विश्वका सर्वाधिक धनी व्यक्तिको सूचीमा एशियाबाट भारतीय व्यापारी मुकेश अम्बानी शीर्षमा छन् । उनी ११ औं स्थानमा रहँदा भारतकै अर्का व्यापारी गौतम अडानी भने १२ औं स्थानमा छन् । अम्बानीको कुल सम्पत्ति ११५ बिलियन डलर छ । हिजो (सोमवार) उनको नेटवर्थ १ बिलियन २४ करोड डलरले बढेको छ । यस वर्ष उनको कुल सम्पत्ति १८.२ बिलियन डलरले बढेको छ ।

अदानी समूहका अध्यक्ष गौतम अडानीको कुल सम्पत्ति भने १०४ बिलियन डलर छ । यो वर्ष उनको कुल सम्पत्ति १९.२ बिलियन डलरले बढेको छ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्