बागमती प्रदेशका ६ जना मन्त्रीद्वारा सामूहिक राजीनामा



हेटौंडा,फागुन २४ । बागमती प्रदेश सरकारका ६ जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । नेपाली कांग्रेसका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले बुधबार मुख्यमन्त्री शालिकराम जम्कट्टेलसमक्ष राजीनामा दिएका हुन् । 

प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा, उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकार, संस्कृति, पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जन, खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री तीर्थबहादुर लामा, स्वास्थ्यमन्त्री उत्तम जोशी र वन तथा वातावरणमन्त्री मसिना खड्काले मुख्यमन्त्रीसमक्ष संयुक्तरुपमा राजीनामा दिएका हुन् ।  

नेपाली कांग्रस संसदीय दलका नेतासमेत रहेका आर्थिक मामिलामन्त्री लामा र खानेपानीमन्त्री तीर्थबहादुर लामा गत वर्ष चैत २६ गते मन्त्री नियुक्त भएका थिए भने अन्य चारजना गत जेठ ७ गते नियुक्त भएका थिए ।

बागमती प्रदेशमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) सहित पाँच दलको समर्थनमा अघिल्लो वर्ष पुस ५ गते नेकपा (माओवादी केन्द्र) का नेता शालिकराम जम्कट्टेलको नेतृत्वमा सरकार गठन भएको थियो । सत्तासाझेदार दलहरू एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टींले सरकार छाडेपछि नेपाली कांग्रेससँग मिलेर गत चैतमा मुख्यमन्त्री जम्कट्टेलले सरकार पुनर्गठन गरेका थिए ।  

सङ्घीय सत्ता गठबन्धनमा आएको परिवर्तनले बागमती प्रदेश सरकार पनि एक पटक पुनर्गठन भइसकेको छ । बागमती प्रदेशसभामा सात दलको प्रतिनिधित्व छ । नेपाली कांग्रेस ३७ सदस्यसहित सबैभन्दा ठूलो दल हो भने नेकपा (एमाले) २७ सदस्यसहित दोस्रो ठूलो दल हो । प्रदेशमा नेकपा (माओवादी केन्द्र)का २१, राप्रपाका १३, नेकपा (एकीकृत समाजवादी)का सात, नेपाल मजदुर किसान पार्टीका तीन र हाम्रो नेपाली पार्टीका दुई जना प्रदेशसभा सदस्य छन् । 

नयाँ गठबन्धन दल एमाले, माओवादी र एकीकृत समाजवादीले साझेदारी गर्दा बागमती प्रदेशमा ५५ जना सदस्यको समीकरण बन्छ । एक सय १० सदस्यीय बागमती प्रदेशसभामा यो समीकरण सरकार गठनका लागि पर्याप्त हुँदैन । रासस

प्रतिक्रिया दिनुहोस्