‘हस्तकलाको योगदान महत्त्वपूर्ण’



काठमाडौं,फागुन २४ । काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले स्थानीय तहका महिलालाई घरेलुस्तरका शीप सिकाई आर्थिक हिसाबले अरूमा निर्भर हुन नपर्ने अवस्थाको सृजना गर्नु आवश्यक रहेको बताएकी छिन् । यसले उनीहरूमा आत्मनिर्भरताको विकास हुन जाने र क्रमशः उद्यमशील बन्दै देशको आर्थिक समुन्नतिमा महिलाको सहभागी हुने वातावरण सृजना गर्ने विश्वास उनको थियो । 

नेपाल हस्तकला व्यवसायी संघ काठमाडौंले काठमाडौं महानगरपालिका तथा नेपाल हस्तकला महासंघको सहयोगमा  आयोजना गरेको स्थानीय आर्थिक विकासमा काठमाडौं महानगरपालिकाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएकी हुन् । उपप्रमुख डंगोलले हस्तकलाको दायरा निकै फराकिलो हुनुका साथै यसको विकासले देशको आर्थिक समृद्धिमा दीर्घकालीन प्रभाव पार्ने भएकोले स्थानीय तहको आर्थिक गतिविधिलाई सक्रिय पार्न हस्तकलामा सहकार्य गरिएको जानकारी दिइन् ।

उनले ‘एक वडा एक नमुना कार्यक्रम’ अन्तर्गत पहिलो चरणमा १४ वडाका लागि कार्यक्रम समेत निश्चित गरिसकेको र बाँकी वडामा छिटै तय गरिने भएकोले यसले स्थानीय तहमा विभिन्न खाले स्वरोजगारका अवसर प्राप्त हुने वातावरण तयार पारेको बताइन् । 

नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यले देशको जीडीपीमा योगदान पुर्‍याउने क्षेत्रमा कृषिपछि हस्तकला क्षेत्र रहेको बताउँदै यो हस्तकला क्षेत्रका उद्योगलाई सुदृढीकरण गर्दै देशको आर्थिक विकासमा टेवा दिन महासंघले विभिन्न काम गर्दै आएको उल्लेख गरे । 

आयोजक संस्थाका अध्यक्ष मीरा भट्टराईले स्थानीय अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको हस्तकलाको उद्यमशीलता प्रवद्र्धनमा महानगरपालिकाले उत्प्रेरकको भूमिका निर्वाह गर्न अत्यावश्यक रहेकोमा जोड दिइन् । कार्यक्रमका स्रोत व्यक्ति विनय महर्जनले स्थानीय तहको विकासमा महानगरपालिकाको भूमिका लगायत ४ विषयमा प्रस्तुतीकरण दिएका थिए । 

प्रतिक्रिया दिनुहोस्