बागमती प्रदेश सरकारको वृत्ति मार्गनिर्देशन सेवा सञ्चालनमा



काठमाडौं,फागुन २४ । बागमती प्रदेश सरकारको वृत्ति मार्गनिर्देशन (करियर गाइडेन्स) सेवा सञ्चालन कार्यक्रम शिक्षा तालिम केन्द्र, धुलिखेलमा बुधवार शुरू भएको छ ।

बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तान र नेपालका लागि स्विट्जरल्याण्डका राजदूत डा. डेनियल मेउलीले ‘वृत्ति मार्गनिर्देशन सेवा सञ्चालन एवम् डिजिटल प्लेटफर्म’को संयुक्त रूपमा उद्घाटन गरेका छन्।

वृत्ति मार्गनिर्देशन सेवा कक्षा ८, ९ र १० का विद्यार्थीसहित युवालाई व्यक्तिगत र सामूहिक परामर्शमार्फत प्रदान गरिनेछ । वृत्ति मार्ग निर्देशन सेवाले पेशाको बारेमा जानकारी गराई उपयुक्त वृत्ति मार्ग छनोट गर्न‚ पेशा अपनाउन र रोजगारीको बजारसँग जोड्न मद्दत गर्नेछ । सहजकर्ता र मनोविज्ञानमा ज्ञान भएको परामर्शकर्ताबाट सेवा प्रदान हुनेछ । 

त्यसैगरी प्रदेश मन्त्रालयको वेबसाइटमा रहेको डिजिटल प्लेटफर्ममा योग्यता परीक्षण गरि उनीहरूको रुचि, खुबी र श्रम बजारको मागको आधारमा सम्भावित वृत्ति मार्ग पहिचान गरिनेछ । प्रदेश सरकारले स्थानीय तहसँगको सहकार्यमा विद्यालय र रोजगार सेवा केन्द्रमार्फत यो सेवा विस्तार गर्नेछ ।

उद्घाटन कार्यक्रमको प्रमुख अभिभावक एवम् बागमती प्रदेशका सामाजिक विकासमन्त्री मोक्तानले दक्ष र समर्पित व्यक्तिको विकासमा वृत्ति मार्गनिर्देशन महत्त्वपूर्ण रहेको बताइन् । स्थानीय सरकारसँगको सहकार्यमा सेवाको सुदृढीकरण र विस्तार गर्न प्रदेश सरकारले आवश्यक स्रोत सधानको व्यवस्था गर्न प्रतिबद्ध रहेको उनले जानकारी दिइन् । प्रदेश सरकारले वृत्ति मार्गनिर्देशन सेवा स्थानीय तहसँगको समन्वय र सहकार्यमा सञ्चालन गर्न प्रदेशको शिक्षा नीतिमा यसलाई समावेश गरिएको उनको भनाइ थियो।

नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत महामहिम डा. डेनियल मेउलीले भनिन्, ‘स्विट्जरल्याण्डले शिक्षा, नवप्रवर्तन र युवा सशक्तीकरणमा गहिरो प्रतिबद्धता गरेको छ। वृत्ति मार्गनिर्देशन सेवा केन्द्रले शिक्षा र रोजगारी बीचको खाडललाई कम गर्न, सूचना एवम् तथ्याङ्कका आधारमा युवाले निर्णय लिन र उनीहरूको व्यक्तिगत र व्यावसायिक लक्ष्यसँग मिल्ने अवसरहरू प्रयोग गर्न सशक्त बनाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ।’ 

भेरा रेन्ट्स, बीज ब्रेन (स्वीजरल्याण्डको वृत्ति मार्गनिर्देशन केन्द्र) का प्रबन्धकले स्विस शिक्षा प्रणाली र कानूनमा वृत्ति मार्गनिर्देशन कसरी समावेश गरिएको छ, भन्ने विषयमा र फ्यूचर क्याप्टन्स इन इन्डियाका संस्थापक/सीईओ  तमिलसेल्भान महालिंगमले भारतीय युवामा वृत्ति मार्गनिर्देशन र सरकारको भूमिकाबारे आफ्नो अनुभव र दृष्टिकोणबारे अनलाइन प्रस्तुतीकरण गरेका थिए ।

काठमाडौं विश्वविद्यालय शिक्षा विद्यालयका डीन प्रा. डा. बालचन्द्र लुइँटेल‚ बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव डा‍. भीष्मकुमार भुसाल, बुढानीलकण्ठ नगरपालिकाका शिक्षा महाशाखा प्रमुख र वृत्ति मार्गनिर्देशन शिक्षकबीच प्यानल छलफल भएको थियो । 

विद्यार्थी र युवाका लागि वृत्ति मार्गनिर्देशनको महत्त्व, नेपालको शिक्षा क्षेत्रको रूपान्तरणमा यसको सम्भावित योगदान र सेवा विस्तारको लागि सहकार्यका बारेमा प्यानल छलफल भएको थियो । वृत्ति मार्ग निर्देशन सेवा सञ्चालनसम्बन्धी प्रदेश सरकारले शुरु गरेको अभ्यास कार्यदिशाका सम्बन्धमा सामाजिक विकास मन्त्रालयको उपसचिव खुविराम अधिकारीले प्रस्तुतीकरण दिएका थिए । 

नेपाल र स्वीट्जरल्याण्ड सरकारबीचको द्विपक्षीय सम्झौताबमोजिम सञ्चालन भएको दिगो तथा सम्मानित रोजगारीको लागि शीप परियोजना (इन्स्योर) र सामाजिक विकास मन्त्रालयको संयुक्त प्रयासमा वृत्ति मार्गनिर्देशन सेवा सञ्चालन गरिएको हो। 

प्रतिक्रिया दिनुहोस्