अवैध सामान भित्र्याउने व्यापारीको तीन पुस्ते खोज्दै सुक्खा बन्दरगाह भन्सार



वीरगञ्ज,फागुन २७ । वीरगञ्ज सुक्खा बन्दरगाहबाट एउटा बस्तु घोषणा गरेर अर्कै बस्तु भित्र्याउने व्यापारीको तीन पुस्ते पत्ता लागाउन भन्सारले प्रक्रिया अगाडि बढाएको छ । घोषणाभन्दा फरक बस्तु भित्र्याएको भेटिएपछि भन्सारले त्यस्ता आयातकर्तालाई अनुसन्धानका लागि उपस्थित हुन पत्र काटेको थियो । 

माघको पहिलो साता ५ आयातकर्ता कम्पनीका सञ्चालकलाई पत्र काटिएको बन्दरगाह भन्सारका प्रमुख रामप्रसाद मैनालीले जानकारी दिए । सात दिनभित्र उपस्थित हुन भनिएकोमा २ महीना पुग्न लाग्दासमेत नआएपछि भन्सारले ती व्यापारीको तीन पुस्ते पत्ता लगाउन खोजेको हो । 

नवलपरासीको महेश्वरी ट्रेडर्स, काठमाडौंको पाथीभरा स्टोर्स, सिगोल ट्रेडिङ, बाग भैरव ट्रेडर्स र जय मुखी एग्रो ट्रेडर्सले घोषणाभन्दा फरक बस्तु भित्र्याएको भेटिएपछि भन्सारले अनुसन्धान अघि बढाएको थियो । ती कम्पनीका सञ्चालकलाई अनुसन्धानका लागि बोलाइए पनि उपस्थित भएका छैनन् । तीन पुस्ते पत्ता लगाएर पक्राउ गर्ने प्रक्रिया थालिएको भन्सारले बताएको छ ।

सुक्खा बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकारी सुशील शर्माका अनुसार ती कम्पनीले एलसी खोलेका बैंक र आन्तरिक राजस्व कार्यालयलगायतका निकायमा सञ्चालकहरूको विवरणका लागि पत्राचार गरिएको छ । अनुसन्धानका लागि पत्र काटेर बोलाउँदा उपस्थित नभएपछि अब त्यस्ता व्यापारीको तीन पुस्ते र ठेगाना पत्ता लगाएर पक्राउ गर्ने प्रक्रिया अघि बढेको सूचना अधिकारी शर्माले बताए । 

ती कम्पनीले भन्सारको हरियो लेन दुरुपयोग गरी एउटा बस्तु घोषणा गरेर प्रतिबन्धित मालसामान भित्र्याएका थिए । कुखुराको दाना र मुसुरोको दाल ल्याएको भनिएका कन्टेनरमा सुपारी, मासको दालमा पोस्ता दाना, हार्डवेयरका सामानमा स्कुटर, मदिरालगायतका सामान फेला परेपछि बन्दरगाह भन्सारले अनुसन्धान अघि बढाएको थियो । 

बन्दरगाहमा २०७६ चैतदेखि भन्सारमा अलपत्र छोडिएका कन्टेनर जफत गर्ने प्रक्रिया अघि बढेपपछि यो यस्तो तथ्य बाहिर आएको हो । सरकारले त्यसैबेला विदेशी विनिमय सञ्चितिमा दबाब परेको भन्दै केराउ, मरिच, सुपारी, छोकडा, मदिराजस्ता बस्तुको आयात रोकेको थियो । 

बन्दरगाहमा ४ वर्षदेखि थन्किएका ४ सय कन्टेनर खोलेर हेर्दा करिब १०० कन्टेनरमा यस्तो भेटिएको भन्सार विभागका एक अधिकारीले बताए । भन्सार प्रमुख मैनालीले गत मंसिर १० गते सूचना निकालेर यो प्रक्रिया अघि बढाएका हुन् । 

यो प्रकरणमा तत्कालीन सुक्खा बन्दरगाह भन्सारदेखि भन्सार विभागका उच्च अधिकारीसमेतको मिलेमतोको आशंका गरिएको छ । यसमा तत्कालीन सत्तासीन राजनीतिको शीर्ष तहको संरक्षण रहेको भन्सार विभागका एक अधिकारीले बताए । तलदेखि माथिसम्म ‘सेटिङ’ नभई यो तहको ‘बदमासी’ सम्भव नहुने दाबी ती अधिकारीको छ । 

यो प्रकरणलाई राजस्व अनुसन्धान विभागले पनि निगरानीमा राखिएको बताएको छ । अनुसन्धान र कारवाहीको जिम्मेवारी भन्सारको भए पनि कानूनअनुसार कारवाही भए/नभएको र यसबारे आवश्यक सूचना संकलन गर्ने काम भइरहेको विभागका महानिर्देशक नवराज ढुंगानाले आर्थिक अभियानलाई बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्