बझाङ र इलामवासीलाई आयोगले गर्यो यस्तो अनुरोध
काठमाडौ,फागुन २७ । निर्वाचन आयोगले इलाम– २ र बझाङ–१ का जनतालाई आगामी वैशाख १५ गते हुन गइरहेको उपनिर्वाचनका लागि मतदाता नामावली अद्यावधिक कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ ।
आयोगका प्रवक्ता सहसचिव शालिग्राम शर्मा पौडेलले आइतबार विज्ञप्ति जारी गर्दै यस्तो अनुरोध गरेका हुन् ।
निर्वाचन कार्यालयबाट २०८० फागुन १३ गते सम्म संकलन भएका विवरणमध्ये २०८१ वैशाख १४ गते सम्म १८ वर्ष उमेर पुग्ने मतदाताको विवरण अद्यावधिक गरिने उनले जानकारी दिएका छन् ।
मतदाता नामावली अद्यावधिक तथा अन्तिम मतदाता नामावली प्रकाशन कार्यक्रम फागुन २९ गतेदेखि २०८० चैत्र ५ सम्म सञ्चालन हुने आयोगले जनाएको छ ।
यसका लागि फागुन २८ गते आयोगको वेबसाइट www.election.gov.np मा मतदाता नामावली प्रकाशन गरिने पनि आयोगले जानकारी दिएको छ ।
उक्त अवधिमा मतदाता नामावलीमा भएको त्रुटि सच्याउन र एकाघर परिवारका सदस्यको मृत्यु भएको वा नागरिकता त्याग गरेको अवस्थामा नामावलीबाट नाम हटाउनका लागि मा गई अनलाइनमार्फत वा सम्बन्धित निर्वाचन कार्यालय वा वडा कार्यालयमा निवेदन दिन सकिनेछ । मातदाता नामावली अद्यावधिक कार्यक्रम सम्पन्न भएपश्चात् चैत्र २२ मा अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ,’ विज्ञप्तिमा उल्लेख छ ।


