राष्ट्रिय सभा अध्यक्ष निर्वाचन : सत्ता गठबन्धन फेरिएपछि उम्मेदवारीबाट पछि हटे सिटौला, कांग्रेसबाट शर्मा उम्मेदवार बन्ने

काठमाडौं,फागुन २८ । नेपाली कांग्रेसले राष्ट्रिय सभा अध्यक्ष पदमा युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा आइतवार अपराह्न बसेको संसदीय दल कार्यसमिति बैठकले लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
यसअघि कांग्रेसबाट कृष्ण प्रसाद सिटौला राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बन्ने चर्चा चले पनि सत्ता गठबन्धन फेरिएसँगै उनी पछि हटेका हुन् । गत सोमवार प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेससहितको गठबन्धन छाडेर नेकपा एमालेसहितको नयाँ गठबन्धनमा लागेपछि चुनाव नजितिने ठानेर सिटौला उम्मेदवारीबाट पछि हटेको बताइएको छ ।
गत माघ ११ गते भएको राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस-माओवादी केन्द्रसहितको गठबन्धनबाट सांसद निर्वाचित सिटौला सोही गठबन्धनबाट राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बन्ने चर्चा थियो ।
५८ सदस्यीय राष्ट्रिय सभामा कांग्रेसका १६ जना सांसद छन् । यस्तै नेकपा माओवादी केन्द्रका १७, नेकपा एमालेका १०, नेकपा एकीकृत समाजवादीका ८, जनता समाजवादी पार्टी, नेपालका ३ छन् भने लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका १–१ सांसदले राष्ट्रिय सभामा प्रतिनिधित्व गरेका छन् । राष्ट्रिय सभामा दुई जना भने मनोनित सांसद छन् । यसआधारमा अहिलेको सत्ता गठबन्धन (माओवादी केन्द्र, एमाले, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी, नेपाल)सँग स्पष्ट बहुमत देखिएको छ ।
राष्ट्रिय सभा अध्यक्षको निर्वाचन यही फागुन २९ गते हुने भएको छ । निर्वाचनका लागि आज सोमवार मनोनयन दर्ता गर्ने कार्यक्रम छ ।