सामुदायिक विद्यालयका विद्यार्थी पढ्दै कमाउँदै



गोरखा,फागुन २८ । गोरखाको पालुङटार नगरपालिका-९ मा रहेको त्रिवेणी माध्यमिक विद्यालय मिरकोटका विद्यार्थीहरूले १२ क्विन्टल आलु फलाएर राम्रो आम्दानी गरेका छन् । विद्यालयले नजिकै रहेको जग्गा भाडामा लिएर उत्पादन गरेको आलु बिक्री वितरण भइरहेको त्रिवेणी माविका प्रधानाध्यापक गणेश सेढाईले जानकारी दिए । 

उनका अनुसार कक्षा ६ देखि १२ कक्षासम्मका १९० जना विद्यार्थीहरूको सहभागितामा आलु खेती भएको थियो । उत्पादित १२ क्विन्टल आलुमध्ये आइतबारसम्म ९ क्विन्टल आलु बिक्री वितरण भइसकेको प्रधानाध्यापक सेढाईको भनाइ छ । आलु खेतीका लागि पालुङटार नगरपालिकाको कृषि शाखाले ५० प्रतिशत अनुदानमा बिउँ उपलब्ध गराएको थियो । 

विद्यार्थीहरूले लगाएको आलु ४० केजीभन्दा मुनी लैजाने ग्राहकलाई ३५ रुपियाँ र ४० केजीभन्दा बढी लाने ग्राहकलाई ३० रुपियाँको दरले बिक्री वितरण गरिएको सहायक प्रधानाध्यापक गणेश बहादुर गुरुङले जानकारी दिए । त्रिवेणी माध्यमिक विद्यालयमा कृषि धार अन्तर्गत बाली विज्ञान पढाई हुने गरेको छ । 

कृषि धार पढाउने विद्यालयले प्रयोगात्मक कक्षा स्वरूप विद्यार्थीहरूलाई खेतीमा सहभागिता गराएको हो ।विद्यालयले पाँच वर्षका लागि १० रोपनी खेत र ८ रोपनी पाखो बारी भाडामा लिएको छ । अहिले त्यसको खेतको वर्षमा २ लाख र पाखो बारीको वर्षमा १ लाख घरधनीलाई बुझाउने गरी विद्यालय र जग्गा धनी बिच सम्झौता भएको छ । सोही जग्गामा विद्यार्थीहरूले वर्षमा तीन पटक धान, आलु, टमटर, काक्रो, काउली, बन्दा, मोटरकोषा, लगायतको खेती गर्ने गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्