बंगलादेश निर्यात : ८ रुपैयाँभन्दा माथि र ९ रुपैयाँभन्दा तलको औसत मूल्यमा किनबेच सहमति



काठमाडौं,फागुन २९ । नेपाल र बंगलादेशबीच नेपालबाट निर्यात हुने बिजुलीको मूल्यमा सहमति भएको छ । नेपालको प्रस्तावभित्रै रहेर बंगलादेश प्रतियुनिट मूल्यमा सहमत भएको हो । ऊर्जा मन्त्रालय र बंगलादेशका अधिकारीबीच हालै भएको छलफलमा मूल्यमा सहमति जुटेको मन्त्रालय स्रोतले पुष्टि गरेको छ । यही फागुन ९ गते नेपाल विद्युत् प्राधिकरणको टोली बंगलादेश निर्यात हुने बिजुलीको मूल्य टुंगो लगाउन ढाका पुगेको थियो । त्यसबेला नेपालले प्रतियुनिट मूल्य ८ रुपैयाँ ९६ पैसादेखि ९ रुपैयाँ २८ पैसासम्म प्रस्ताव गरेको थियो । यसमा सहमति नजुटेपछि प्राधिकरण टोली भोलिपल्टै स्वदेश फर्किएको थियो ।

हालै भएको दुईपक्षीय छलफलमा नेपालले प्रस्ताव गरेको मूल्यको बीचमा रहेर प्रतियुनिट मूल्य निर्धारण गरिएको स्रोतले जानकारी दियो । नेपाल आउँदो वर्षायाममा ४० मेगावाट विद्युत् बंगलादेशमा निर्यात गर्ने तयारीमा छ । 

‘नेपालले प्रस्ताव गरेकै ८ रुपैयाँदेखि माथि र ९ रुपैयाँभन्दा तलको औसत मूल्यमा सहमति जुटेको हो । मूल्यमा सहमति भइसके पनि सम्झौतापत्रमा हस्ताक्षरको काम बाँकी नै रहेकाले अहिल नै निश्चित भएको मूल्य खुलाउन मिल्दैन,’ स्रोतले आर्थिक अभियानसँग भन्यो ।

मूल्यमा सहमति जुटेसँगै नेपालबाट आगामी बर्खादेखि बंगलादेशमा विद्युत् निर्यातको बाटो खुलेको छ । यसअघि गत जेठमा बंगलादेशमा बसेको नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकमा भारतीय प्रसारण लाइन प्रयोग गरेर नेपालबाट ४० मेगावाट विद्युत् आयात गर्न बंगलादेश सहमत भएको थियो ।

ऊर्जा मन्त्रालयका सहसचिव नवीनराज सिंहले विद्युत् विक्रीदरमा सहमति जुटेको स्वीकार गर्दै अबको १ महीनाभित्रै सम्झौतापत्रमा हस्ताक्षर गर्ने तयारी भइरहेको बताए । सम्झौतापत्रमा हस्ताक्षरको विषयमा मन्त्रालय र प्राधिकरणको टोलीसँग बंगलादेशका अधिकारीहरूले अनौपचारिक रुपमा छलफल गरिरहेको उनले बताए ।

बंगलादेशी सञ्चारमाध्यमका अनुसार गत साता बंगलादेशी ऊर्जा तथा खनिज राज्यमन्त्री नसरुल हमिदले अर्को महीना नेपालबाट विद्युत् आयात गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर हुने बताएका छन् । उनले यही फागुन २२ गते बंगलादेशस्थित भारतीय उच्च आयोगका अधिकारी प्रणय वर्मासँगको भेटवार्ताका क्रममा यस्तो बताएका हुन् । उनले छिमेकी मुलुकबाट ९ हजार मेगावाट विद्युत् आयात गर्ने बताउँदै भारतीय कम्पनी जीएमआरमार्फत नेपालबाट ५०० मेगावाट विद्युत् आयात गर्ने विषय पनि लगभग अन्तिम चरणमा पुगेको र नवीकरणीय ऊर्जा आयातको काम पनि भइरहेको बताएका थिए । 

बंगलादेशी मन्त्रिपरिषद्अन्तर्गतको आर्थिक मामिलासम्बन्धी समितिको गत मङ्सिर २० गतेको बैठकले नेपालबाट विद्युत् आयात गर्ने प्रस्तावलाई सैद्धान्तिक स्वीकृति दिएको थियो । त्यसअघि नै भारतले राजनीतिक र कर्मचारी तहमा लामो छलफलपछि ढल्केवर मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै नेपालबाट बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात गर्न अनुमति दिने सहमति जनाइसकेको छ । भारतीय प्रसारण लाइन प्रयोग गर्दै बंगलादेशसम्म विद्युत् निर्यात गर्दा लाग्ने ह्वीलिङ चार्ज बंगलादेशले बेहार्नेछ । भारत र बंगलादेशबीचको उच्च भोल्टेज बहरामपुर–भेरामारा अन्तरदेशीय प्रसारण लाइनमार्फत नेपालको बिजुली बंगलादेश पुग्नेछ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्