अन्तरराष्ट्रिय बजारमा नेपाली जुसको माग बढ्यो



काठमाडौं,फागुन ३० । नेपालबाट सबैभन्दा धेरै निर्यात हुने वस्तुको सूचीमा पाँचौं स्थानमा रहेको जुसको अन्तरराष्ट्रिय बजारमा माग बढेको छ । भन्सार विभागको चालू आर्थिक वर्ष (आव)को ७ महीनाको तथ्यांकले यस्तो देखाएको हो । 

विभागको तथ्याङ्कअनुसार चालु आवको साउनदेखि माघ महीनासम्म नेपालबाट ४ अर्ब ३८ करोड ७६ लाख ४३ हजार रुपैयाँको जुस निर्यात भएको छ, उक्त अवधिमा ४ करोड ५७ लाख ६७ हजार ६८२ लिटर जुस विदेश पठाइएको विभागको तथ्यांकले देखाएको छ । यो गत आवको सोही अवधिको तुलनामा ११ प्रतिशतले बढी हो । सो अवधिमा जुस निर्यातबाट भित्रिने रकम ३३ प्रतिशतले बढेको छ ।  

गत आवमा ३ अर्ब २८ करोड ६५ लाख ७१ हजार रुपैयाँको ४ करोड ११ लाख १४ हजार ५२७ लिटर जुस निर्यात भएको थियो । नेपालले भारत, चीन, अस्ट्रेलिया, संयुक्त राज्य अमेरिका, इटाली, जर्मनी लगायतका देशमा जुस पठाउने गरेको छ । तीमध्ये सबैभन्दा धेरै जुस निर्यात भारतमा हुने गरेको छ । पछिल्लो ७ महीनामा भारतमा मात्रै ४ अर्ब ३४ करोड ७ लाख १९ हजार रुपैयाँको ४ करोड ५७ लाख १६ हजार ६४३ लिटर जुस पठाइएको छ । त्यस्तै चीनमा ४ करोड १९ लाख ७३ हजार रुपैयाँको २६ हजार १०३ लिटर जुस निर्यात भएको छ ।

कुन वर्षमा कति निर्यात ? 

तथ्याङ्क अनुसार आव २०७५/७६ मा नेपालबाट ४ अर्ब ५७ करोड ३५ लाख ७ हजार रुपैयाँको ६ करोड ३४ लाख ८९ हजार ५८० लिटर जुस निर्यात भएको थियो । 

यस्तै, आव २०७६/७७ मा ३ अर्ब ४३ करोड २२ लाख ६६ हजार रुपैयाँको ४ करोड ७८ लाख ६१ हजार २४१ लिटर, आव २०७७/७८ मा ४ अर्ब २२ करोड ९९ लाख १८ हजार रुपैयाँको ५ करोड ८० लाख २४ हजार २५ लिटर, आव २०७८/७९ मा ६ अर्ब ७ करोड ८७ लाख २ हजार रुपैयाँको ८ करोड २० लाख १३ हजार ५२६ लिटर र आव २०७९/८० मा ६ अर्ब ६३ करोड ५५ लाख २३ हजार रुपैयाँको ७ करोड ८९ लाख ८१ हजार ८३६ लिटर जुस विदेश पठाइएको विभागको तथ्याङ्कले देखाएको छ ।  

नेपाल निर्यात परिषद अध्यक्ष नरेश लाल श्रेष्ठ नेपालबाट निर्यात भएको जुसमा भारतको हिस्सा बढी भएको बताउँछन् । ‘जुस निर्यातमा ९९ प्रतिशत हिस्सा भारतकै छ,’ उनी भन्छन् । नेपाली जुस सस्तो र गुणस्तरीय भएकाले भारतमा यसको माग भएको उनको भनाइ छ । ‘अब गर्मी शुरू भयो, जुसको माग झन् धेरै बढ्छ,’ उनी भन्छन् । 

विदेशमा यसको माग बढे पनि नेपालमा भने यसको माग घटेको छ । नेपालीको क्रय क्षमता घटेकाले आन्तरिक माग घटेको उनको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्