अमेरिकी राष्ट्रपति निर्वाचनमा बाइडेन र ट्रम्पबीच फेरि प्रतिस्पर्धा हुने !



वाशिङ्गटन (अमेरिका),चैत १ । अमेरिकाको राष्ट्रपति पदका लागि राष्ट्रपति जो बाइडेन र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पबीच फेरि प्रतिष्पर्धा हुने भएको छ । आगामी नोभेम्बर ५ मा हुने राष्ट्रपति निर्वाचनका लागि बाइडेन र ट्रम्पले क्रमशः डेमोक्रेटिक र रिपब्लिकन पार्टीबाट उम्मेदवारी सुरक्षित गरेका छन् ।

ट्रम्पले बुधवार बिहान राष्ट्रपतिको लागि रिपब्लिकन उम्मेदवारी प्राप्त गरेका छन् भने बाइडेनले मंगलवार राति डेमोक्रेटिक उम्मेदवारी प्राप्त गरेका छन् । जर्जिया, मिसिसिपी र वाशिङ्गटनमा राष्ट्रपतिको प्राइमरीमा मतदाताहरूले मतदान गरेका छन् ।

बाइडेनले कुल ३ हजार ९३३ प्रतिनिधि दलका सदस्यहरूमध्ये आधाभन्दा बढीको समर्थन प्राप्त गरिसकेका छन् । प्रजातान्त्रिक उम्मेदवार बन्न १ हजार ९ सय ६८ प्रतिनिधिको समर्थन चाहिन्छ । आगामी अगस्टमा शिकागोमा हुने ‘डेमोक्रेटिक नेशनल कन्भेन्सन’मा बाइडेनलाई पार्टीका तर्फबाट औपचारिक रूपमा राष्ट्रपतिको उम्मेदवार घोषणा गरिने बताइएको छ । 

ट्रम्पले भने हालसम्म १ हजार २ सय १५ प्रतिनिधिको समर्थन प्राप्त गरिसकेका छन् । उनलाई आगामी जुलाईमा मिलवाकीमा हुने रिपब्लिकन नेशनल कन्भेन्सनमा पार्टीको तर्फबाट आधिकारिक रूपमा राष्ट्रपतिको उम्मेदवार घोषणा गरिने बताइएको छ ।

यसैबीच, बाइडेनले एक विज्ञप्ति जारी गर्दै राष्ट्रपतिको उम्मेदवारी दिन आवश्यक मत पाएकोमा खुसी व्यक्त गरेका छन् । साथै उनले ट्रम्प लोकतन्त्रका लागि खतरा भएको बताएका छन् । 

बाइडेन र ट्रम्पबीच यसअघि सन् २०२० को राष्ट्रपतीय चुनावमा प्रतिस्पर्धा भएको थियो । आगामी चुनावमा यी दुई उम्मेदवारबीच प्रतिस्पर्धा भए अमेरिकामा यो नयाँ कीर्तिमान बन्नेछ । अमेरिकामा अहिलेसम्म लगातार दुई ओटा राष्ट्रपति चुनावमा एकै उम्मेदवारबीच प्रतिस्पर्धा भएको छैन ।

प्रतिक्रिया दिनुहोस्