नुवाकोटको थान्सिङमा मेसीनबाट धान रोपाइँ, आठजना रोपारको मेलो आधा घण्टामै सम्पन्न



नुवाकोट,चैत १ । नुवाकोट थान्सिङका किसानहरूले मेसिनको प्रयोगमार्फत चैतेधान रोपेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत खरिद अत्याधुनिक चारचक्के मेसिनबाट नुवाकोटको धान जोनअन्तर्गत लिखु गाउँपालिकाको थान्सिङ फाटको जमिनमा धान रोपाइँ भएको हो ।

मेसिनबाट रोप्ने धानको बीउमा माटो र समयको गुणस्तर मिलाउनुपर्ने हुँदा यस वर्ष नर्सरीमा राखिएको धानको बीउबाट परिक्षणस्वरुप रोपाईं गरिएको थान्सिङ कृषि सहकारीका नवराज थापाले बताए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ नुवाकोटको ५० प्रतिशत अनुदानमा सहकारीले कुल २ लाख ४० हजारमा धान रोप्ने मेसिन गतवर्ष नै खरिद गरेको थियोे । उचित बीउ ब्यवस्थापन नहुदा गतवर्ष मेसिनबाट धान रोपाइँ गर्न नसकिएतापनि यस वर्ष भने मिसिनबाट धान रोपाइँ सफल भएको थान्सिङ कृषि सहकारीका अध्यक्ष दिपक पन्तले बताए ।

उनले भने ‘गत वर्षहरूमा पनि थान्सिङका केही किसानका जमिनमा मेसिनबाट धान रोपाईं प्रयास गरिएको थियो । तर, यस वर्ष भने बिउ तयारी गर्दा नै मेसिनरी पद्धति अपनाइएकाले सहज भएको छ । खरिद गरिएको मेसिनले थान्सिङका तल्लो भेगका किसानलाई राहत पुग्ने स्थानीय युवा नेता प्रकाश डङोल बताउँछन् । विगतको मेसिनभन्दा यो मेसिन नुवाकोटका तल्लो भेगीय कृषकका लागि बढी व्यावहारिक देखिएको युवा डङोलको भनाइ छ ।

‘हामीले यस पटक आठ जना रोपारको मेलो आधा घण्टामै सम्पन्न गर्यौ । यस जमिनमा रोपाईं गर्दा मेसिनको मात्र हैन, धानको बीउको नर्सरीबारेमा पनि ज्ञान भयो । किसानस्तरमा प्रविधि हस्तान्तरण भएको छ । अब किसान आफैँ चलाएर रोपाईं गर्न सक्ने भएका छन्’ डङोलले भने । किसानले आफ्नो खेतमा आफैँ बीउ राख्न र मेसिन चलाउन सक्ने भएकाले मेसिनको प्रयोग जनस्तरसम्म पुग्न सक्ने उनको दाबी छ । जसले आगामी वर्षबाट मेसिनबाट नै खेत रोप्नेको संख्या बढाउदै लैजाने विश्वास सहकारीको छ ।

रोपाइँ कार्यक्रममा प्रधानमन्त्री कृषि परियोजनाका वरिष्ठ कृषि अधिकृत होमनाथ लम्साल, कृषि अधिकृत शरण भुजेल, कृषि प्राबिधिक राजन डङ्गोल, भुवन तिमिल्सिना, ओभरसियर मधु न्यौपाने, नासु राजकुमार केसि लगायतको निरीक्षण रहेको थियोे ।

हेरौं केही तस्बिरहरु:

प्रतिक्रिया दिनुहोस्