विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पुनःलेखन गर्न एमालेको आग्रह



काठमाडौं,चैत २ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारका तर्फबाट प्रस्तुत विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले समाजवाद र समृद्धिको बाटो पहिल्याउन नसक्ने खालको भएकाले पुनःलेखन गर्न आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाई आर्थिक मन्दीबाट मुलुकलाई मुक्त गरी रोजगारी र उत्पादन बढाउने ढङ्गले विधेयक पुनःलेखन गर्न आग्रह गरेका हुन् । 

यसअघिको सत्ता गठबन्धनका तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतले उक्त प्राथमिकता पेस गर्नुभएकामा हाल नयाँ अर्थमन्त्री नियुक्त भएको स्थितिमा पनि यसलाई तदअनुरूप बनाउन उनको आग्रह छ ।

‘सिद्धान्त र प्राथमिकताले संविधानको प्रस्तावना बमोजिमको समाजवादोन्मुख अवधारणालाई महत्त्व दिन सकेको छैन । समाजवाद शब्दलाई नै जानबुझेर प्रयोग नगरी पूँजीवाद सोचमा लाने खालको देखिन्छ,’ नेता पौडेलले भने । उनले अर्थतन्त्रका सूचकहरू पनि सहीरूपमा नआएको भन्दै लक्ष्यको आधाभन्दा कम आर्थिक वृद्धि हुने स्थिति हुँदा अर्थतन्त्र सुधारमा भनिएकोमा असन्तुष्टि व्यक्त गरे । रासस

प्रतिक्रिया दिनुहोस्