जिप दुर्घटना अपडेट : आठको मृत्यु, सबैको सनाखत
टक्सार (भोजपुर),चैत २ । धरानबाट भोजपुर घोरेटारतर्फ जाँदै गरेको यात्रुवाहक जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ । बिहीबार भएको दुर्घटनामा घटनास्थलमा नै सातजनाको मृत्यु भएको थियो भने थप एकजनाको धरानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय, भोजपुरका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) सुदीपराज पाठकका अनुसार मृतक सबैको सनाखत भएको छ । मृत्यु हुनेमा इटहरी–९ का चालक ४० वर्षीय मानबहादुर बस्नेत, भोजपुरको हतुवागढी गाउँपालिका–२ का ७० वर्षीया पर्वतमाया राई, सोही वडाका २३ वर्षीय चन्द्रप्रकाश राई, छ महीनाकी बालिका बिसाङ चाम्लिङ राई, हतुवागढी–५ की ३२ वर्षीया राजकुमारी राई, हतुवागढी–९ का ६८ वर्षीय पदमबहादुर थापा, ४५ वर्षीया कमला अधिकारी र हतुवागढी–५ का ४२ वर्षीय किशन राईको सनाखत भएको प्रहरी प्रमुख तथा डीएसपी पाठकले जानकारी दिए । किशन राईको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
साथै दुर्घटनामा परी गम्भीर घाइते भएकालाई उद्धार गरी उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । इलाका प्रहरी कार्यालय, घोरेटारबाट सातजना र हसनपुरबाट पाँचजना गरी १२ जना प्रहरीको टोलीलाई तत्काल घटनास्थलमा पठाएर उद्धारको व्यवस्था मिलाइएको प्रहरी प्रमुख पाठकले जानकारी र्दिए । घाइतेको विवरण लिने काम भइरहेको प्रहरीले जनाएको छ ।
धरानबाट भोजपुरको दक्षिणतर्फ आउँदै गरेको को१ज २५९३ नम्बरको जिप आज बिहान १०ः३० बजेतिर उदयपुरको बेलका–७ मैनामैनीमा दुर्घटना भएको थियो । जिपमा क्षमताभन्दा बढी यात्रु सवार रहेको देखिएकाले दुर्घटना भएको देखिएको प्रहरीको प्रारम्भिक अनुमान छ । रासस