नागबहालमा सम्यक् पर्व मनाउने भक्तजनको घुइँचो



काठमाडौं,चैत २ । सम्यक् पर्व मनाउन ललितपुरमा नागबहालमा बिहीवार भक्तजनको घुइँचो लागेको छ । फागुन शुक्ल तृतीयाको दिन शुरु हुने यो पर्व ‘दिपङ्कर पर्व’ नामले समेत प्रचलित छ । 

यो पर्वको अघिल्लो दिन बेलुकी विशाल दिपङ्कर बुद्ध प्रतिमा पाटन दरबार क्षेत्रमा जम्मा गरेर नागबहाल ल्याइन्छ । दुई दिन लामो शताब्दी पुरानो परम्परा ललितपुरको नागबहालको ठूलो खुला मैदानमा आयोजित हुने गर्छ, जहाँ दीपंकर बुद्ध (विगतका बुद्धमध्ये एक) को सयौं मूर्तिहरू पूजाका लागि भेला हुन्छन् । 

दिउँसोभरि महाद्वीप प्रज्वलन, महायज्ञ, महादान कार्य हुन्छ । साँझ विधिवत पूजाआजा गरि आ–आफ्नो स्थान फर्काइने छ र पुनः पाँच वर्षपछि यस सम्यकको आयोजना हुनेछ।

काठमाडौं, ललितपुर (पाटन) र भक्तपुरको बौद्ध समाजमा सम्यक् पर्व मनाउने परम्परा छ । काठमाडौंको स्वयम्भूस्थित भुइँखेलमा प्रत्येक बाह्र वर्षमा मनाइने सम्यक् पर्व अन्यत्रको भन्दा विशेष मानिन्छ । प्रत्येक पाँच वर्षमा ललितपुरको पाटनमा मनाइने ‘इतिल्हने सम्यक्’ ले पनि विशिष्ट महत्त्व राख्छ । 

हरेक ४ वर्षको अन्तरालमा पाँचौं वर्ष आयोजना हुने यस सम्यक् महादानमा पाटनका प्रमुख महाविहारका साथै चापागाउँ, बुंगमती, चोभारअनि भक्तपुरको प्रशन्नशील महाविहार र काठमाडौंको केशचन्द्र महाविहार (इतुम्बहालमा रहेका तथागत)लाई निमन्त्रणा दिने गरिन्छ । 

सम्यक महादान काठमाडौंमा १२ वर्ष र पाटनमा ५ वर्षको अन्तरालमा गरिन्छ भने भक्तपुरमा माघे संक्रान्तिको दिन बर्सेनि गरिँदै आएको पाइन्छ । काठमाडौंमा भने दुई दशकदेखि सम्यक महादान हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्