चुनावी बन्ड नम्बर जारी नगरेको भन्दै भारतको सर्वाेच्च अदालतले एसबीआईसँग माग्यो जवाफ



नयाँ दिल्ली (भारत),चैत ३ । चुनावी बन्ड नम्बर जारी नगरेको भन्दै भारतको सर्वाेच्च अदालतले भारतीय स्टेट बैंक अफ इन्डिया (एसबीआई)सँग ३ दिन (मार्च १८ सम्म)मा जवाफ मागेको छ ।

चुनाव आयोगले चुनावी बन्डको सिलबन्दी पत्र फिर्ता गर्न माग गर्दै दायर गरेको याचिका सुनुवाईका क्रममा अदालतले एसबीआईसँग उक्त जवाफ मागेको हो । सुनुवाईका क्रममा मुख्य न्यायाधीश डीवाई चन्द्रचूडले एसबीआईसँग चुनावी बन्ड नम्बर जारी किन नगरेको भन्दै प्रश्नसमेत सोधेका थिए ।

अदालतले गत फेब्रुअरी १५ मा चुनावी बन्ड योजना असंवैधानिक भन्दै यसलाई रद्द गरेको थियो । साथै अदालतले एसबीआईलाई २०१९ अप्रिल १२ देखि अहिलेसम्मको चुनावी बन्ड खरीदबारेको जानकारी मार्च ६ गतेसम्म दिन आदेश दिएको थियो ।

तर, पछि अदालतले उक्त जानकारी सार्वजनिक गर्ने म्याद मार्च १२ सम्म बढाएको थियो । साथै अदालतले चुनाव आयोगलाई मार्च १५ सम्म यसबारेको जानकारी आफ्नो वेबसाइटमा राख्न आदेशसमेत दिएको थियो । 

यसअनुसार चुनाव आयोगले हिजो (मार्च १४)मा चुनावी बन्डबारेको जानकारी आफ्नो वेबसाइटमा राखिसकेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्