भाइटीकामा सशस्त्र प्रहरीद्वारा तीनवटा निःशुल्क बस सञ्चालन
काठमाडौं,कात्तिक २५ । भाइटीकाको दिन आज सर्वसाधारण यात्रुको सहज आवतजावतका लागि सशस्त्र प्रहरी बल, नेपालले काठमाडौं उपत्यका र भक्तपुरमा तीनवटा निःशुल्क बस सञ्चालन गरेको छ ।
भाइटीकाका दिन सार्वजनिक यातायातका साधन अत्यन्तै न्यून रूपमा सञ्चालन हुने भएकाले नागरिकलाई आवतजावतमा सुविधा पुर्याउने उद्देश्यले निःशुल्क बस सेवा सञ्चालन गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
निःशुल्क बस सेवा आज बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन हुने व्यवस्था मिलाइएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट सञ्चालन हुने पहिलो बसले बालाजु, नयाँ बसपार्क, कोटेश्वर, सातदोबाटो र बल्खु हुँदै विभिन्न स्थानका यात्रुलाई सेवा दिनेछ । त्यस्तै, प्रधान कार्यालयबाटै सञ्चालन हुने दोस्रो बसले सीतापाइला, कलंकी, बल्खु, कोटेश्वर र नयाँ बसपार्क हुँदै यात्रुलाई निःशुल्क सेवा प्रदान गर्नेछ ।
यसैगरी, प्रधान कार्यालय स्वयम्भूबाट भक्तपुरसम्म सञ्चालन हुने तेस्रो बसले स्वयम्भू, कलंकी, बानेश्वर, कोटेश्वर, पेप्सिकोला, सानोठिमी, पुरानोठिमी, सल्लाघारी र लोकन्थली हुँदै पुनः बानेश्वर, कलंकी र स्वयम्भूसम्म सेवा दिने व्यवस्था मिलाइएको छ ।
भाइटीकाको दिन सार्वजनिक यातायातको अभावमा यात्रुलाई हुन सक्ने असुविधा कम गर्न सशस्त्र प्रहरीले निःशुल्क बस सेवा सञ्चालन गरेको हो ।

