प्रधानमन्त्रीद्वारा भाइटीकाको शुभकामना, प्रेम र आत्मीयता प्रगाढ बनोस् भन्ने कामना
काठमाडौं,कात्तिक २५ । प्रधानमन्त्रीले यमपञ्चकको अन्तिम दिन भाइटीकाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् ।
भाइटीकाको पावन अवसरमा आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीलाई शुभकामना दिँदै प्रधानमन्त्रीले यस पर्वले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास, आपसी सम्मान र आत्मीयतालाई अझ प्रगाढ बनाउन प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् ।
सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै प्रधानमन्त्रीले भाइटीकासँग जोडिएको पौराणिक मान्यताको स्मरण गरेका छन् । पौराणिक कथाअनुसार कार्तिक शुक्ल द्वितीयाका दिन बहिनी यमुनाको निमन्त्रणामा यमराज उनको निवासमा पुगेका थिए । त्यस अवसरमा यमुनाले आफ्ना दाजु यमराजलाई विधिपूर्वक टीका र पूजा गरी आदरसत्कार गरेकी थिइन् ।
बहिनीको प्रेम, निष्ठा र आतिथ्यबाट प्रसन्न भएका यमराजले यस दिन बहिनीबाट टीका र पूजा ग्रहण गर्ने दाजुभाइलाई मृत्युको भयबाट मुक्ति मिल्नुका साथै दीर्घायु, सुस्वास्थ्य र सौभाग्य प्राप्त हुने वरदान दिएको धार्मिक विश्वास रहेको प्रधानमन्त्रीले उल्लेख गरेका छन् ।
यही धार्मिक विश्वासअनुसार भाइटीकाका दिन दिदीबहिनीले आफ्ना दाजुभाइको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै श्रद्धापूर्वक पूजा गर्ने परम्परा रहिआएको छ ।
भाइटीकामा दाजुभाइलाई दूबो, मखमली तथा सयपत्रीको माला लगाइदिने, ओखर फुटाउने, तेलको रेखाले छेक्ने, सप्तरङ्गी टीका लगाउने तथा विभिन्न मिष्ठान्न परिकार खुवाउने चलन छ । दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार दक्षिणा प्रदान गरी आशीर्वाद ग्रहण गर्ने परम्परा रहेको छ ।
प्रधानमन्त्रीले भाइटीकाले नेपाली समाजमा पुस्तौँदेखि कायम पारिवारिक सम्बन्ध, प्रेम र आत्मीयतालाई थप बलियो बनाउँदै सबैको जीवनमा सुख, शान्ति, समृद्धि र मङ्गल ल्याओस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

