दुई कारोबार दिनमा अपर तामाकोशी हाइड्रोपावरको ६६ करोडभन्दा बढीको शेयर किनबेच



काठमाडौं,चैत ३ । दुई कारोबार दिनमा अपर तामाकोशी हाइड्रोपावर कम्पनीको ६६ करोडभन्दा बढी शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बुधवार र बिहीवारमा मात्रै कम्पनीको ६६ करोड ४३ लाख ५६ हजार ७२५ रुपैयाँ बराबरको ३६ लाख १४ हजार ९११ कित्ता शेयर किनबेच भएको छ । 

विगत २ महीनादेखि औसतमा दैनिक ५० हजार हाराहारी कित्ता मात्रै कारोबार हुँदै आएको कम्पनीको पछिल्ला दुई दिनमा भने लाखौं कित्ता कारोबार भएको हो ।

कम्पनीको शेयरमा लगानीकर्ता आकर्षित हुनुको प्रमुख कारण भनेको शेयर मूल्य सस्तो हुनु हो । पाँच वर्षअगाडि कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ९ सय पुगेको थियो । त्यसपछि घटेर बिहीवार हालसम्मकै न्यून विन्दु प्रतिकित्ता रू. १७० सम्म झरेको थियो । घटेको मौकामा खरीदकर्ता आकर्षित भएसँगै सर्वाधिक शेयर खरीदविक्री भएको देखियो ।

आइतवार कम्पनीको १० करोड ५९ लाख कित्ता हकप्रद शेयर सूचीकृत भएको थियो । सोही कारण बुधवार भने कम्पनीको शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको थियो । 

बिहीवार भने कम्पनीको शेयर मूल्य निकै सस्तो भएपछि खरीदकर्ता हाबी हुँदा शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ४ रुपैयाँ ३० पैसा बढेको थियो भने रू. ५० करोड ८९ लाख बराबरको कारोबार भएको हो ।

प्रतिक्रिया दिनुहोस्