इलाममा किवीको उत्पादन ३२ प्रतिशतले बढ्यो, थोरै लगानी धेरै प्रतिफल पाउँदा किसान दङ्ग



फिक्कल (इलाम),चैत ४ । जिल्लमा अघिल्लो वर्षको तुलनामा यस वर्ष ३२ दशमलव पाँच प्रतिशतले किवी उत्पादन बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।  कृषि ज्ञान केन्द्रको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८०/८१ मा तीन हजार सात सय ७८ दशमलव आठ मेट्रिक टन किवी उत्पादन भएको छ । यस वर्ष आठ सय ९० हेक्टर क्षेत्रमा किवी खेती गरिएको छ । 

अघिल्लो आव ०७९/८० मा सात सय असी हेक्टर क्षेत्रमा किवी खेती गरिएकोमा दुई हजार आठ सय ५२ मेट्रिक टन किवी उत्पादन भएको थियो । किसानले करेसाबारीमा समेत किवी खेती गर्न थालेपछि उत्पादन वृद्धि भएको हो । गत आवमा उत्पादकत्व प्रतिहेक्टर तीन दशमलव ६५ थियो । चालु आवमा बढेर प्रतिहेक्टर चार दशमलव २५ पुगेको कृषि ज्ञान केन्द्रको तथ्यांकमा छ ।

सन्दकपुर गाउँपालिका–३ का तारामणि सापकोटाले ४० रोपनी क्षेत्रमा किवीखेती गर्दै आएका छन् । किसान खतिवडाले शुरूमा लगानी धेरै भए पनि दिगो फाइदा लिन सकिने र बजार अभाव नहुने भएकाले किवीखेतीमा लागेको बताउँछन् ।

“किवीमा लगानी गर्दा फाइदा हुने बुझेपछि घरमै विरुवा उत्पादन गरी किवीखेती शुरू गरेको हुँ,” उनले  भने । सोही वडाका अर्का किसान देवेन्द्र सुवेदीले अलैँची उत्पादन हुने पाँच रोपनी क्षेत्रमा किवीखेती गरेका छन् । “अलैँचीको विकल्पका रुपमा किवीखेती विस्तार गरेको छु,”  उनले  भने, “अलैँचीमा विभिन्न रोग लाग्ने र मूल्यमा उतारचढाव हुन थालेपछि विकल्पमा किवीखेती गरेको हुँ ।” किवी प्रतिकिलो रु एक सयदेखि रु दुई सय ५० सम्म बिक्री हुने गरेको सन्दकपुर गाउँपालिका–५ जमुनाका किसान युवराज भट्टराईले बताए ।

“यहाँ उत्पादन गरिएको किवी बेच्नका लागि बजारको समस्या छैन । व्यापारीहरुले बगानबाटै ग्रेडिङ गरी प्रतिकिलो रु ७० देखि रु एक सय सम्ममा खरिद गर्दछन् ।” उनले  भने, “बजार पुर्‍याउन सकियो भने प्रतिकिलो रु दुई सय ५० सम्ममा सजिलै बिक्री हुन्छ ।” जिल्लामा किवी खेती गरिरहेका सापकोटा र सुवेदी प्रतिनिधि पात्र मात्र हुन् । किवी खेतीमा उनिहरु जस्तै किसानहरुको आकर्षण बढेपछि  किवी उत्पादन बढेको कृषि ज्ञान केन्द्र इलामका निमित्त प्रमुख रामजुगल यादवले बताए । 

एक बोटमा दुई सय किलोसम्म उत्पादन हुने किवी मकैबारी, चियाबारी र अलैँचीसमेत मासेर रोप्न थालिएको छ । रोपेको ३ वर्षदेखि उत्पादन दिने किवीले लगातार ५० वर्षसम्म उत्पादन दिने किसानको भनाइ छ । जिल्लाको इलाम नगरपालिका, सन्दकपुर गाउँपालिका, माईजोगमाई गाउँपालिका, देउमाई नगरपालिका, फाकफोकथुम गाउँपालिका र माङसेबुङ गाउँपालिकाको माथिल्लो क्षेत्रमा व्यावसायिक किवी खेती हुँदै आएको छ । रासस  

प्रतिक्रिया दिनुहोस्