मुस्ताङमा लेक लागेर २ जना पर्यटकको मृत्यु



मुस्ताङ,चैत ४ । मुस्ताङमा लेक लागेर २ जना पर्यटकको मृत्यु भएको छ। मृत्यु हुनेमा एक भारतीय र एक नेपाली दर्शनार्थी पर्यटक रहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

मोरङ जिल्ला पगरी शनिश्चरे नगरपालिका-१ निवासी ६५ वर्षीया गोमादेवी लुइँटेलको लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका डीएसपी भोजराज पाण्डेयले जानकारी दिए। उनका अनुसार मोरङदेखि मुस्ताङको पवित्र धार्मिक स्थल मुक्तिनाथ दर्शनका लागि मनकामना बचत तथा ऋण सहकारी संस्थाका ७४ जना सदस्य बस रिजर्भ गरी धार्मिक यात्राका लागि मुस्ताङ आएका थिए। 

आइतबार जोमसोमबाट मुक्तिनाथ जाँदै गर्दा वारागुङ मुक्तिक्षेत्र-१ खिङ्गा पुग्दा गोमादवीलाई लेक लागेर स्वास्थ्यमा समस्या देखिएको थियो। उनलाई स्वास प्रश्वासमा समस्या आएपछि उपचारका लागि जोमसोमको मुस्ताङ जिल्ला अस्पताल लगिएको थियो। अस्पतालमा पुर्‍याइएका उनलाई उपचार गर्ने क्रममा चिकित्सकले मृत घोषणा गरेको डीएसपी पाण्डेयले बताए ।

यसअघि आइतबार बिहान ३ बजेको समयमा होटलमा बास बसेका एक भारतीय पर्यटकको मुस्ताङ जिल्ला अस्पतालमा लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्