भृकुटीमण्डपमा भएको पुष्प मेलामा १ करोडभन्दा बढीको कारोबार



काठमाडौं,चैत ५ । भृकुटीमण्डपमा आइतवार सम्पन्न २५ औं फ्लोरा एक्पोमा १ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । ४ दिनसम्म चलेको उक्त मेलामा विभिन्न प्रजातिका फूल र टिकट विक्रीबाट उक्त रकमको कारोबार भएको आयोजक फ्लोरिकल्चर एशोसियशन नेपाल जानकारी दिएको छ । पुष्प मेलालाई ४९ हजारले अवलोकन गरेको आयोजकले जनाएका छन् ।

‘स्वच्छ वातावरण तथा आर्थिक सम्वृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने नाराका साथ गत बिहीवार मेला उद्घाटन भएको थियो । 

पुष्पजन्य वस्तुको राष्ट्रिय स्तरमा प्रचारप्रसार गरी बजार विस्तार गर्न, उत्पादन विक्री वितरण गर्न साथै पुष्प व्यवसायी र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्न प्रदर्शनी आयोजना गरिएको एशोसियशनका अध्यक्ष मीनबहादुर तामाङले बताए ।

मेलाबाट अपेक्षाअनुरूप नै कारोबार भएको उनको भनाइ छ । मेलामा ६० ओटा प्रदर्शनी स्टल, ३ ओटा ल्यान्डस्केपिङ स्टल, ८ ओटा अफिसियल स्टल, १–१ ओटा प्रतियोगितात्मक प्रदर्शनी स्टल र फुड स्टल समेत राखिएको थियो ।

विभिन्न उत्सवमा बढी प्रयोग हुने पुष्पजन्य वस्तुको कारोबारमा कोरोना महामारीका कारण पछिल्ला केही वर्षमा नकारात्मक असर परेको भए पनि आर्थिक वर्ष २०७८÷७९ देखि भने सुधार हुँदै गएको तामाङ बताउँछन् । नेपालमा वार्षिक ३ अर्ब रुपैयाँभन्दा बढीको फूलको कारोबार हुने गरेको तथ्यांक छ ।

फूलको मागमा आएको वृद्धिसँगै विशेष गरी काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४३ जिल्लामा पुष्पखेती विस्तार भइसकेको छ । 

नेपालमा हाल व्यावसायिकरूपमा ४५० प्रजातिका फूल उत्पादन हुँदै आएका छन् । विसं २००७ देखि शुरु भएको पुष्प व्यवसाय सहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदै गएको छ । 

प्रतिक्रिया दिनुहोस्