पोखरा विमानस्थल निर्माणको ऋण अनुदानमा बदल्ने प्रधानमन्त्रीको प्रतिबद्धता



पोखरा,चैत ५ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा विमानस्थल निर्माणका लागि लिएको ऋण अनुदानमा बदल्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पोखरामा आइतवार भएको एक कार्यक्रममा उनले छिमेकी मुलुकसँग यसबारे कुरा भइरहेको बताए । 

पोखरा अन्तरराष्ट्रिय विमानस्थलले ऋणमा डुबायो भन्ने खालका अफवाहप्रति जानकार रहेको जनाउँदै उनले भने, ‘२५ प्रतिशतमात्र होइन, सबै ऋण अनुदानमा बदल्नेबारे मेरो ध्यान छ ।’ 

सन् २०२३ जनवरी १ (२०७९ पुस १७) मा सञ्चालनमा आएको उक्त विमानस्थल निर्माणका लागि सरकारले चिनियाँ एक्जिम ब्याङ्कबाट झण्डै २२ अर्ब रुपैयाँ ऋण लिएको छ ।नेपालले उक्त ऋणमध्ये ७५ प्रतिशतको २ प्रतिशतका दरले ब्याज तिर्नुपर्छ भने बाँकी २५ प्रतिशत ऋणको ब्याज तिर्नुपर्दैन ।

अर्धवार्षिक किस्ता तिर्नुपर्ने तालिकाअनुसार नागरिक उड्डयन प्राधिकरणले उक्त ऋणको वार्षिकरूपमा २ अर्ब ४ करोड रुपैयाँ किस्ता तिर्नुपर्छ । प्राधिकरणले उक्त ऋणको किस्ता २०९२ असोज १ गतेसम्म तिरिसक्नुपर्ने कार्यतालिका छ । 

विमानस्थल बनाउनका लागि ऋण लिन नेपाल सरकारले २०७२ सालमा सो बैंकसँग सम्झौता गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्