दीपक मनाङे फेरि बने मन्त्री



काठमाडौं,चैत ६ । अल्पमतमा परेको सरकार जोगाउन गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले सरकार पुनःगठन गरेका छन् । 

उनले सोमवार दीपक मनाङेलाई भौतिक पूर्वाधारमन्त्री नियुक्त गरेका हुन् । मनाङेलाई मन्त्री नियुक्त गरेको पत्र प्रदेश प्रमुखसमक्ष पठाइसकेको मुख्यमन्त्री पाण्डेले जानकारी दिए । उनले सोमबार दिउँसो साढे ३ बजे पद तथा गोपनीयताको शपथ लिएका छन् । 

मनाङ प्रदेश ‘२’बाट स्वतन्त्र रूपमा चुनाव जितेका मनाङे लगत्तै नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका थिए । अहिले भने उनी आफूलाई स्वतन्त्र सांसद नै रहेको दाबी गर्दै आइरहेका छन् । उनले आफूलाई स्वतन्त्र सांसदको हैसियत दिन संसद् सचिवालयमा निवेदन दिइसकेका छन् ।

सरकारमा मनाङे सहभागी भएसँगै बहुमत जुटाउन अग्रसर नेपाली कांग्रेस नेतृत्वको सरकारलाई केही राहत मिलेको छ । सरकारले बहुमतका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेकपा माओवादी केन्द्रबाट चुनाव जितेका नेपाल समाजवादी पार्टी (नेसपा)का सांसद फणिन्द्र देवकोटाको समर्थन पाउने विश्वास लिएको छ । 

६० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ३१ सांसदको समर्थन चाहिन्छ । अहिले गण्डकीमा कांग्रेसका २७, राष्ट्रिय प्रजातन्त्र पार्टीका २, दीपक मनाङे १ र नेसपाका १ सांसद छन् । 

गत फागुन २१ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेससहितको गठबन्धन छाडेर नेकपा एमालेसहितको गठबन्धनमा आएसँगै प्रदेश सरकार अल्पमतमा परेको थियो । त्यसको केही समयपछि मुख्यमन्त्री पाण्डेले तत्कालीन सरकारमा सहभागी नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्रीलाई बर्खास्त गरेका थिए ।

त्यसपछि दुवै दलले सरकारलाई दिएको समर्थन फिर्ता गरेसँगै सरकार अल्पमतमा परेको थियो ।

प्रतिक्रिया दिनुहोस्