लामिछानेबारेको प्रधानमन्त्रीको स्पष्टोक्तिमा कांग्रेस असन्तुष्ट, सांसद लेखकले भने– प्रधानमन्त्रीले खोज्नुभएको प्रमाण के हो ?



काठमाडौं,चैत ७ । सहकारीको रकम हिनामिनाको आरोप लागेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जवाफप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले असन्तुष्टि व्यक्त गरेको छ । 

मंगलवार संसदमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुहुँदै प्रधानमन्त्री दाहालले उपप्रधान तथा गृहमन्त्री लामिछानेले सहकारीको रकम हिनामिना गरेको आधार नभेटिएको बताउनुभएपछि कांग्रेस सांसद रमेश लेखकले यसप्रति असन्तुष्टि जनाएका हुन् । 

‘प्रधानमन्त्रीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारीको सञ्चालक, व्यवस्थापक र शेयर सदस्य केही पनि हुनुहुन्न भन्नुभएको छ । अहिलेसम्म देखिएका प्रमाणबाट सहकारीको रकम हिनामिना भएको देखिएन भन्नुभएको छ । अनुसन्धानबाट अपराध देखिएन भन्नुभएको छ । यस कुरालाई थप राजनीतिकरण गर्न नगर्न भन्नुभएको छ । यसमा हाम्रो चित्त बुझेन,’ उनले भने ।

उनले लामिछानेले सहकारीको रकम हिनामिना गरेको खुल्ने धेरै प्रमाण रहेको दाबी गरे । ‘प्रधानमन्त्रीजीले भन्नुभयो– प्रमाण छैन । पोखरा महानगरपालिकाले सूर्यदर्शन सहकारीबाट गोर्खा नेटवर्क प्रालिको नाममा रवि लामिछानेको नाममा पुलेसो कर्जा नम्बर ११६/४४५६ खडा गरी खाता नम्बर ४९–००७७० पेश्की फछ्र्याैट गरेको भन्ने के हो ?’ उनले प्रश्न गरे । 

‘जाहेरी दरखास्त परेको छ, ४२६÷१२९ दर्ता छ । कास्की जिल्ला प्रहरी कार्यालयमा दर्ता छ । २०८० माघ २२ गते पीडितहरू जाहेरी दरखास्त लिएर गएका छन् । पुरानै जाहेरी दर्ता भएकाले त्यो यसैको निरन्तरता हो भनेर प्रहरीले राखेको छ । यो प्रहरीले लिएर गएको जाहेरी दरखास्त प्रमाण होइन ?’ उनले अर्काे प्रश्न गरे । 

यति हुँदाहुँदै पनि प्रधानमन्त्रीले लामिछानेविरुद्ध प्रमाण नभएको बताउनु कि उहाँ (प्रधानमन्त्री)लाई जानकारी दिनुपर्ने निकायले लामिछानेविरुद्ध प्रमाणबारे जानकारी नदिएको वा कि प्रधानमन्त्रीले नै यसलाई गम्भीरतापूर्वक नलिएको भन्ने सांसद लेखकको भनाइ थियो ।  

‘प्रधानमन्त्रीजी आजभन्दा ३–४ दिनअघि पोखरा जाँदा पीडितहरूले भेटेका हुन् कि होइनन् ? अनि पीडितहरूले भेट्दा सहकारीको रकम दुरुपयोग भयो, अपचलन भयो, त्यो रकम अपचलन गर्ने मान्छेमध्ये एकजना हजुरकै क्याबिनेटको उपप्रधान तथा गृहमन्त्री माननीय रवि लामिछाने हुनुहुन्छ भन्ने भनेका हुन् कि होइनन् ?’ उनले भने, ‘पीडितले भनेका कुरा प्रमाण होइनन्, प्रहरीमा दिएको जाहेरी प्रमाण होइन, पोखरा महानगरपालिकाले यही कुरा अध्ययन गर्नका लागि समिति बनाएर समितिले प्रतिवेदन दिएर उल्लेख गरेको कुरा प्रमाण होइन, माननीय रवि लामिछानेले आफैले कागज गरेर सरकारी अड्डामा दिएको प्रमाण होइन भने सम्माननीय प्रधानमन्त्रीजीलाई सम्माननीय सभामुखमार्फत मेरो आग्रह छ– प्रमाण के हो ? के प्रमाण हुँदा अनुसन्धान हुँदो रैछ ।’ 

उनले नेपालको मौजुदा कानुनी व्यवस्था, नेपालको फौजदारी न्यायको निरन्तरको अभ्यास र स्थापित सिद्धान्तअनुसार पीडितले विधिवत् यदि जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको छ र त्योसँगै केही तत्काल प्राप्त केही छन् भने त्यो प्रमाण हो, त्यति भए अनुसन्धान हुने बताए । ‘यति कुराले प्रमाण हुन्न भने के कुराले अनुसन्धान हुने हो सम्माननीय प्रधानमन्त्री वा गृहमन्त्रीले भनिदिनुपर्याे ?’ उनले प्रश्न गरे । 

उनले लामिछानेविरुद्ध सहकारी रकम हिनामिनाको प्रमाण भएको दाबी गरे ।  

सहकारीको रकम हिनामिनाको आरोप लागेका व्यक्ति गृहमन्त्री हुँदा यसले अनुसन्धान प्रभावित पार्ने भन्दै कांग्रेस सांसदहरूले गृहमन्त्री लामिछानेको राजीनामा माग गरिरहेका छन् । आजको बैठकमा पनि कांग्रेस सांसद दीपक गिरीले उपप्रधान तथा गृहमन्त्री लामिछानेको राजीनामा मागेका थिए । 

उनले विगतमा आफूमाथि प्रश्न उठ्दा मन्त्रीहरूले राजीनामा दिएको प्रसंग कोट्याए । ‘रामशरण महत अर्थमन्त्री हुँदा उहाँको विदेशी बैंकमा खाता छ भन्ने प्रश्न उठ्दा राजीनामा दिनुभएको थियो । यस्तै, शेरबहादुर तामाङ मन्त्री हुँदा केही कुरा ‘बेठिक’ बोल्नुभएको भन्ने प्रश्न उठ्दा उहाँले पनि राजीनामा दिनुभएको थियो,’ उनले भने । 

विगतमा भरतमोहन अधिकारी, विष्णु पौडेल र जनार्दन शर्मा अर्थमन्त्री हुँदा पनि बजेटबारे प्रश्न उठेपछि उहाँहरूले राजीनामा दिनुभएको उनले बताए । 

उनले यस घटनाको छानबिनका लागि संसदमा समिति गठन गर्नसमेत माग गरे । 

प्रतिक्रिया दिनुहोस्